• ४ जेठ २०८१, शुक्रबार

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन

blog

महोत्तरीको जलेश्वर भन्सार कार्यालय ।

जनकपुर, वैशाख १७ गते । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताउनुभयो । 

सो अवधिमा दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार आठ सय नौ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो । आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिक मन्दीका कारण राजश्व निर्धारित लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको गुप्ताको भनाइ छ । त्यसै गरी भारत सरकारले प्याजलगायत अन्य सामानको आयातमा लगाएको प्रतिबन्धका कारण पनि राजश्व सङ्कलनमा समस्या आएकोसमेत उहाँले बताउनुभयो । 

सङ्कलित राजश्वमध्ये पेट्रोलियम पदार्थबाट ५३ दशमलव ९१ प्रतिशत अर्थात् एक अर्ब ३५ करोड, कोइलाबाट आठ दशमलव तीन, आलुबाट चार दशमलव तीन, चामलबाट तीन दशमलव दुई, मिठा (गुड) बाट दुई दशमलव तीन, सेरामिक्स तथा टायलबाट एक दशमलव १४, स्याउबाट शून्य दशमलव ६१, मसालाबाट एक दशमलव ७५, प्याजबाट शून्य दशमलव ४९, धानबाट शून्य दशमलव ५७ तथा अन्य सामानबाट एक दशमलव १४ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  

त्यसैगरी विभिन्न मितिमा पक्राउ गरिएका सामानहरूको लिलामीबाट दुई करोड ६६ लाख ८८ हजार राजश्व सङ्कलन भएको पनि तथ्याङ्कमा उल्लेख छ । भन्सार विभागले चालु आवमा तीन अर्ब ७३ करोड २३ लाख ६२ हजार छ सय ८७ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकेको र सो लक्ष्यबमोजिम राजश्व सङ्कलन गर्ने विश्वास रहेको सूचना अधिकारी गुप्ताको भनाइ छ । सो कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालयबाट पनि लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । रासस