• २ जेठ २०८१, बुधबार

सदरमुकाममै खानेपानी समस्या

blog

अमरगढी समाचारदाता

डडेलधुरा, वैशाख १७ गते । सदरमुकाम अमरगढी खलङ्गा क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी घटेपछि खानेपानीको हाहाकार नै मच्चिएको हो । जिल्ला सदरमुकाम क्षेत्रमा चैतको दोस्रो सातादेखि खानेपानीको समस्या सुरु भएको थियो । महाभारत पर्वत क्षेत्रबाट ल्याइएको पानीको मुहान नै सुकेपछि खानेपानी समस्या उत्पन्न भएको हो । 

मुहानमा नै पानी घट्दा चौबिसै घण्टा धारामा आउने पानी हाल तीन दिनमा एक पटक मात्रै आउँछ । २०७६ सालमा तेस्रो साना सहरी आयोजना अन्तर्गत ३१ करोड ५५ लाख छ हजार रुपियाँ लागतमा ‘एक घर एक धारा’ मिटर जडान गरेर खानेपानीको आपूर्ति गरिएको थियो । खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोगराज ऐरका अनुसार खलङ्गा क्षेत्रमा रहेका १४ धारामा पानी पुर्‍याउन २०३४ सालमा खानेपानी योजना सुरु भएको थियो । 

त्यसपछि एक सय घरधुरीका लागि २०५५ सालमा समिति स्थापना गरेर योजना अगाडि बढाइएको थियो । अहिले सदरमुकामको जनघनत्व बढेर एक हजार छ सयभन्दा बढी घरधुरी पुगेकाले पानीको आपूर्ति गर्न समस्या भएको उहाँले बताउनुभयो । खलङ्गा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–२, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ । खानेपानीको अभावलाई समाधान गर्न ३० करोड रुपियाँभन्दा बढी लगानीमा खलङ्गा खानेपानी उपभोक्ता समितिमार्फत साना सहरी खानेपानी योजना सम्पन्न भएको थियो ।

तर गर्मीयाम सुरु भएसँगै मुहानमै पानी घट्ने भएकाले खानेपानीको अभाव हुने गरेको छ । यस वर्ष हिउँ पनि नपरेको र हिउँदमा पर्याप्त वर्षासमेत नभएकाले मुहानमै पानी घटेको उहाँले बताउनुभयो ।  जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय प्रमुख श्याम सुनारका अनुसार फागुनमा भित्रिएको प्रिमनसुनपछि डडेलधुरामा वर्षा भएको छैन । त्यसयता भने वर्षा नहुँदा पानीका मुहान सुक्दै गएका छन् । 

तीन दिनमा एक पटक पानी आइरहेकाले अस्पतालमा समेत चरम समस्या भएको डडेलधुरा अस्पताल विकास व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले बताउनुभयो । “सबैभन्दा बढी पानीको आवश्यक पर्ने अस्पताल नै हो,” उहाँले भन्नुभयो, “पर्याप्त पानी नहुँदा सरसफाइमा निकै समस्या उत्पन्न भएको छ । पानीको समस्या उत्पन्न भएपछि अस्पतालका वार्डभित्रका शौचालय बन्द गर्नु परेको उहाँले बताउनुभयो ।” 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेलधुराका प्रमुख कृष्णबहादुर बोगटीका अनुसार जिल्ला सदरमुकाममा खानेपानीको समस्या समाधान गर्न चालु आर्थिक वर्षमा दुई करोड रुपियाँ बजेट छुट्याइएको छ । नयाँ मुहान थपेर पानी ल्याउन सो बजेट छुट्याइएको हो । हाल महाभारतको अनार्वे मुहानको पानी ल्याउने योजना कार्यान्वयन भइरहेको छ । सदरमुकाम क्षेत्रमा वितरण गरिने खानेपानी योजनाको मुहान अमरगढी नगरपालिका–२ को लामासिन, मातारे र ३ को अनार्वेमा रहेको छ ।