• २ जेठ २०८१, बुधबार

नौ करोड ८३ लाखमा गुम्बा पुनर्निर्माण

blog

भोटेकोशी गाउँपालिका–१ लिस्तिकोटमा निर्माण थालिएको जाङ्तेर लिस्ति पावो गुम्बा । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख १७ गते ।
भारतीय सरकारको नौ करोड ८३ लाख अनुदान सहयोगमा भोटेकोशी गाउँपालिका–१ लिस्तिकोटको चार सय वर्ष पूरानो ज्याङ्तेर लिस्ती पावो गुम्बा पुनर्निर्माण हुन थालेको छ । लिस्तिकोट चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा गाउँ हो ।

विंस. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त उक्त गुम्बा भारत सरकारको पुनर्निर्माण अनुदान परियोजनाअन्तर्गत प्राप्त आर्थिक सहयोगबाट पुनर्निर्माण सुरु भएको हो ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पा, शहरी बिकास तथा भवन आयोजनाका केन्द्रीय आयोजना कार्यान्वय इकाई निर्देशक प्रमुख कोषनाथ अधिकारी, नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । ०८२ फागुनभित्र गुम्बा पुनर्निर्माण सक्ने लक्ष्य लिइएको छ ।

नेपाली कांगे्रसका जिल्ला उपसभापति दोर्जे लामाको नेतृत्वमा भूकम्प अघि दुई करोड चन्दा सहयोग जुटाएर उक्त गुम्बा निर्माण गरिएको थियो । पुरातात्विक महत्त्वको उक्त गुम्बा पुनर्निर्माणका लागि दाताको खोजी भएको थियो । गुम्बा पुनर्निर्माणका लागि भारतीय सरकारले अनुदान दिएपछि स्थानीयमा हर्ष छाएको थियो । समाजसेवी समेत रहनुभएका दोर्जेको पहलमा उक्त ठाँउमा दर्जनौ गुम्बा पुनर्निमार्ण भएका छन् ।

वडा अध्यक्ष राजु लामाका अनुसार उक्त वडाका अधिकाशं मानिसहरु बौद्ध धर्ममा आस्था राख्छन् । सोही वडाको छगाममा १९६० मा स्थापना भएको आनी गुम्बा (सेंग्डक बखाङ धोन्दुप धिङ गोन्पा) छ । त्यस आनी गुम्बामा एक सय २० तिब्बती शरणर्थी आनी र ३६ नेपाली आनी ध्यान गरेर बसेका छन् । स्थापनादेखि हालसम्म हजारौं आनीले उक्त गुम्बामै ध्यान गरेर जीवन बिताएको वडा अध्यक्ष राजुले जानकारी दिनुभयो ।

भूकम्पपछि भारत सरकारले नेपालका सम्पदा पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो । सोही घोषणानुसार उक्त गुम्बा पुनर्निर्माणका लागि अनुदान सहयोग प्राप्त भएको हो । शिलान्यास कार्यक्रममा भारतीय दूतावासका द्वितीय सचिव सोनाले भारत र नेपालको धार्मिक र सांस्कृति पक्षमा समानता रहेकोले नेपाललाई शिक्षा, स्वास्थ्य लगायतमा सहयोग पु¥याउदैं आएको बताउनु भएको छ । भारत र नेपाल एक अर्काको सहयोगी पनि भएको उहाँले बताउनुभयो । भारतीय सरकारलाई लिस्तिकोटबासी, जनप्रतिनिधि, दलका नेता कार्यकर्ताले धन्यवाद प्रकट गरेका छन् ।

सिन्धुपाल्चोकमा भूकम्पपछि हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गापा, लिसंखुपाखर गापा, इनद्रावती गापाका गुम्बाहरु पुनर्निर्माणले गति लिएको छ । शहरी बिकास तथा भवन आयोजनाको केन्द्रीय आयोजना कार्यान्वय इकाईले सिन्धुपाल्चोकमा सात वटा गुम्बा पुनर्निर्माण गर्न लागेको छ । गुम्बै गुम्बाको शहरको रुपमा परिचित हेलम्बु गापाका गुम्बाहरु पुनर्निर्माणको पर्खाइमा छन् । सो गापाको ५२ वटा गुम्बामा ४३ वटा भूकम्पले ध्वस्त बनाएको थियो । त्यसमा अधिकाशं गुम्बा अलपत्र अवस्थामा छन् । पाँचपोखरी थाङपाल गापामा ३९ वटा गुम्बा ध्वस्त रहेको सो पालिकाले जनाएको छ । त्यस गापामा एक सय वर्ष नाघेका १७ वटा गुम्बा छन् । क्षतिग्रस्त गुम्बा मध्ये पाँच वटा गुम्बा पुनर्निर्माण भएका छन् । इन्द्रावती गापामा एक वटा गुम्बा पुनर्निर्माण भएका छन् भने लिसंखुपाखरमा गुम्बा पुनर्निर्माण भएका छैनन् ।