काठमाडौं, पुस ४ गते । रुसले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको हो । सो खोप रुसले आफ्ना देशमा भएका क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।
मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनका अनुसार क्यान्सरविरुद्धको यो खोप सन् २०२५ देखि प्रारम्भ हुन्छ ।
खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ ।
यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ । यो खोप ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताइएको छ ।
क्यान्सरविरुद्धको खोप विकास भइसकेको भए पनि यो कुन क्यान्सरको उपचारका लागि बनाइएको हो र कतिको प्रभावकारी छ भन्ने स्पष्ट छैन ।
खोपको नाम पनि खुलाइएको छैन । क्यान्सर रोग विशेषज्ञ डा.सुजिता हिराचनले विभिन्न देशले नयाँ–नयाँ औषधी बनाइरहेको बताउँदै पछिल्लो समयमा रुसमा खोप बनाएको विषयमा आफूलाई थाहा नभएको बताउनुभयो ।
उहाँ विश्वमा विभिन्न क्यान्सर उपचार गर्न नयाँ–नयाँ प्रविधि उपकरण, औषधीको विकास भएको विश्व स्वास्थ्य सङ्गठनले प्रयोगका लागि सिफारिस गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “धेरै देशहरुले विभिन्न थरीका उपकरण औषधीको विकास गरेका छन् विभिन्न कम्पनीले किमो थेरापीमा प्रयोग गर्ने औषधीको निर्माण गरेका छन् । हालसम्म विकास भएका औषधी शल्यक्रिया गरेपछि मात्र दिन मिल्छ ।”
क्यान्सर विश्वभर नै मृत्युको पहिलो कारक तत्व हो । नेपालमा पनि क्यान्सर रोगका बिरामी बढ्दै गएका छन् ।