• २ जेठ २०८१, बुधबार

पहाड उक्लिए लामखुट्टे बढ्दै रोगव्याध

blog

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख १७ गते । पहिले तराई र गर्मी क्षेत्रमा मात्र हुने लामखुट्टे अहिले हिमाली जिल्लामा देखा पर्न थालेका छन् । लामखुट्टे पहाडमा सरेसँगै लामखुट्टेका कारण हुने रोग देखिन थालेका छन् । 

सन् २०२५ भित्र नेपाललाई औलोमुक्त गर्ने लक्ष्य लिए पनि कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, कालीकोटमा लामखुट्टेका कारण औलोका बिरामी फाट्टफुट्ट देखिएपछि यो लक्ष्यमा थप चुनौती देखिन थालेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा चार वटा वडा उच्च र नौ वटा वडा औलोको मध्यम जोखिममा रहेको जनाइएको छ । 

हुम्लाको ताँजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोटको खाँडाचक्र नगरपालिका–२ औलोको उच्च जोखिममा छन् । यस्तै हुम्लाको अदानचुली गाउँपालिका–२ र ५, चङ्खेली गाउँपालिका–२ र ताँजाकोट गाउँपालिका–१ तथा मुगुको सोरु गाउँपालिका–४ र ५, खत्याड गाउँपालिका–८ पनि उच्च जोखिममा छन् । त्यसै गरी सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ तथा वीरेन्द्रनगर नगरपालिका–७ औलोको मध्यम जोखिममा रहेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले बताउनुभयो । 

चालु आर्थिक वर्षको फागुनसम्म कर्णालीमा २४ जना औलोका बिरामी भेटिएका छन् । यिनमा बाहिरबाट आएका २३ र एक स्थानीय छन् । तीमध्ये सुर्खेतका २०, दैलेखका दुई र कालीकोट तथा हुम्लाका एक/एक जना छन् । बाहिरबाट आउनेका कारण पनि बिरामी देखा परेको हुँदा औलो निवारणमा केही चुनौती देखिएको उहाँको भनाइ छ । जलवायु परिवर्तनको असरलगायतका कारण पहिले तराईमा मात्र देखिने लामखुट्टे अहिले पहाड तथा हिमालमा पनि देखिन थालेकाले चुनौती थपिएको उहाँले बताउनुभयो । 

यद्यपि विगतको तुलनामा कर्णालीमा औलोका बिरामी फेला पर्ने क्रम भने घट्दै गएको छ । अहिले सरकारले औलो रोगको उपचार निःशुल्क गरेको छ । रोगविरुद्ध तत्काल निगरानी गर्ने काम, खोज र नष्ट अभियान, विषादी छर्किने, सचेतना कार्यक्रमले अहिले औलोको जोखिम कम हुँदै गएकाले औलोमुक्त प्रदेश र देश बनाउन सकिने दाबी उहाँले गर्नुभयो । 

स्वास्थ्य निर्देशक डा. रविन खड्काले भारत तथा तेस्रो मुलुकबाट आउने बिरामीले केही चुनौती थपिए पनि तोकिएको अवधिभित्रै औलोमुक्त गराइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।