• १ जेठ २०८१, मङ्गलबार

डढेलोका असर

blog

“भनिन्छ वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैन ।’’ नेपालमा भने यतिखेर मन डढेको सामाजिक सञ्जालमार्फत छरपस्ट देख्न पाइन्छ तर वन डढेको त्यति देखिँदैन । डढेलो जङ्गलमा लागेको आगो हो । डढेलो वनमा एक क्षेत्रबाट सुरु भएर अनियन्त्रित रूपमा फैलिन्छ । डढेलो लागेपछि वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा जीव जनावर र समग्र पारिस्थितिक प्रणाली तथा जैविक विविधता आदि जस्ता पक्ष प्रभावित हुन्छन् । डढेलोबाट निस्कने धुवाँमा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, नाइट्रोजनअक्साइड र अन्य सूक्ष्मकणीय पदार्थ पाइन्छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो धुवाँले आँखा पोल्ने तथा चिलाउने, पिरो हुने र श्वासप्रश्वासमा समस्या ल्याउने गर्छ । 

सन् २०१९ मा अस्ट्रेलियाको जङ्गलमा लागेको भीषण आगलागीले त्यहाँ नजिक रहेका ३४ प्रतिशत मानिसमा श्वासप्रश्वासको समस्या देखिएको थियो । यद्यपि डढेलोको धुवाँले बहुआयामिक क्षेत्रमा लामो समयसम्म पनि असर गर्ने गरेको देखिन्छ । २०८१ साल वैशाख १४ सम्म ५० जिल्लाका वनक्षेत्रमा डढेलो लागेको वन तथा भूसंरक्षण विभागले जानकारी दिएको छ । राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र डढेलोले बढी प्रभावित छन्, जुन नेपालको पर्यटकीय क्षेत्रसमेत हुन् । हालसम्म डढेलोले सबैभन्दा बढी प्रभावित जिल्ला प्युठान रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

हाल नेपालमा ४५.३१ प्रतिशत वन क्षेत्र रहेको छ । वन सम्पदामा नेपाल विश्वमै धनी देशको सूचीमा पर्छ । नेपालको विकासमा वन महत्वपूर्ण आधार भए पनि डढेलो न्यूनीकरण हुन सकेको छैन । मूलतः प्राकृतिक र मानवीय दुवै कारणबाट डढेलो लाग्छ । 

डढेलोको प्रमुख कारण नागरिक सचेतनाको कमीले गर्दा नै लाग्छ । एक तथ्याङ्क अनुसार ५० प्रतिशतभन्दा बढी डढेलो मानिसको लापरबाही, असावधानी तथा नियतवश लाग्छ । खास गरी वनजङ्गलको छेउछाउमा बसोबास गर्ने नागरिकले बाँदर, बँदेल, मुजुर जस्ता जङ्गली जनावर तथा पन्छी आदिबाट अन्नबाली जोगाउन भन्दै जानीजानी वनक्षेत्रमा आगो लगाउँछन् । त्यसै गरी डढेलो लागेपछि वर्षाले ल्याउने भलबाढीको पानी मलिलो हुन्छ भन्ने मान्यताले वनजङ्गलको छेउछाउमा बसोबास गर्ने नागरिकले डढेलो लगाउँछन् । बाक्लो बाँसको झ्याङमा हावाहुरी लाग्दा हुने घर्षणबाट पनि आगो लागि अन्यत्र फैलिन सक्छ । जङ्गलमा आगो लगाउँदा पुरानो घाँस नष्ट हुने र नयाँ पलाउने आशाले पनि स्थानीय डढेलो लगाउन उद्दत हुन्छन् । वनमा गाईवस्तु चराउन जाने व्यक्ति तथा पतकर सङ्कलन गर्न जाने व्यक्तिको सानो भुल जस्तै आगोसँग जिस्कँदा, चुरोट सल्काएर सलाइको काँटी वा चुरोटको ठुटो जङ्गलमा जताततै फ्याँक्दा पनि डढेलो फैलिन सक्छ । कतै कतै बिजुलीको पोलको रूपमा रुखलाई प्रयोग गरिएको पनि देखिन्छ । यसरी प्रयोग गर्दा तार सट हुँदा आगलागी भएर डढेलोको रूप लिन्छ । त्यस्तै कतिपय अवस्थामा कुलतमा फसेका युवाबाट वनक्षेत्रमा बसेर आफैँले जानी जानी डढेलो लगाउने र दमकललाई खबर गरेर जिस्किने गरेको समेत पाइन्छ । 

डढेलो नियन्त्रण गर्न सरकारले यसलाई प्राथमिकतामा राखेको पाइँदैन । नेपालको संविधानको अनुसूची–९ मा वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता विषय सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा उल्लेख छ । संवैधानिक व्यवस्था अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले डढेलो नियन्त्रणमा कठोर कदम चाल्नु पर्नेमा कुनै पनि सरकारको प्राथमिकता यो विषय परेको पाइँदैन । समुदायमा आधारित सामुदायिक वन उपभोक्ता समूहले समेत डढेलो नियन्त्रणमा चासो राखेको पाइँदैन । समुदायिक वन उपभोक्ता समूहको ध्यान वन पैदावार बिक्रीवितरण मात्र प्राथमिकतामा परेको छ । त्यसैले सामुदायिक वन उपभोक्ता समूहको डढेलो नियन्त्रणमा पनि ध्यान पुग्नु पर्छ । नजिकैको वनजङ्गलमा फैलिएको आगो निभाउन स्थानीय बासिन्दाले समेत प्रयास गरेको देखिँदैन । डढेलो फैलिँदै जाँदा आफ्नै बस्ती पनि सखाप हुन सक्छ । युवा, प्रहरी, सेना, सशस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, राजनीतिक प्रदाधिकारी, सामुदियक वनका पदाधिकारी तथा जिम्मेवार कर्मचारी सबैले डढेलो नियन्त्रणका लागि प्राथमिकता दिनु पर्छ । 

डढेलो लगाएपछि वनका काठ दाउरा सुक्छन्, अनि बेच्न पाइन्छ भनेर पनि कतिपयले वनमा डढेलो लगाउने गरेको पनि पाइन्छ । वन संरक्षण तथा विपत् व्यवस्थापनका नाममा अनेकौँ कोठे बैठक र कार्यक्रम सञ्चालन भएका छन्, जुन स्वार्थकेन्द्रित र लाभमा आधारित हुनु पुगे । फलस्वरूप वन संरक्षणको कार्यक्रम र बजेट खर्च बढे पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन । यसै गरी, अस्ट्रेलियाको मोनास विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार जलवायु परिवर्तनका कारण डढेलोका घटना बढिरहेको छ । डढेलो लगाउने व्यक्तिलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याउन सकिएको छैन । अतः नागरिकमा डढेलो लगाउँदा कानुनी कारबाहीमा परिन्छ भन्ने भय नै छैन । प्राकृतिक रूपमा पर्ने चट्याङ, खडेरी जस्ता कारणले समेत डढेलो लाग्ने गर्छ ।

डढेलोको कारण कार्बन उत्सर्जनमा वृद्धि भएको छ । वातावरण प्रदूषित भएको छ । सन् २०४५ सम्ममा नेपालले शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसलाई यसले चुनौती दिएको छ । मानव तथा जीवजन्तुको स्वास्थ्यमा नराम्रो असर परेको छ । जनधनको क्षति भएको, जीवजन्तु तथा बोटबिरुवामा क्षति भएको, लोप हुन लागेका प्रजाति विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पु¥याएको छ । यति मात्र होइन, वनमा रहने सर्प, बिच्छीलगायत जीव डढेलो छल्न मानव बस्तीतिर पस्छन् । फलस्वरूप कीट आतङ्क बढ्छ । हरेक वर्ष लाग्ने डढेलोको कारण पानीका मुहान सुक्दै गएका छन् । ढलेसुकेका काठ, बहुमूल्य जडीबुटी नष्ट भएको छ । कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, मिथेन र अन्य प्राङ्गारिक ग्यास पैदा हुन्छ । यी ग्यासले वायुमण्डलमा रहेको ओजन तहमा क्षति पुग्न गई वायुमण्डलको तापक्रममा वृद्धि हुन्छ । समग्र जैविक विविधतामा असर पुग्छ । 

डढेलो लाग्न नदिन सर्वप्रथम जनचेतना अभिवृद्ध गर्नु पर्छ, जसका लागि डढेलोबाट हुने क्षणिक फाइदा र दीर्घकालीन असरबारे विद्यालय, आमासमूह तथा स्थानीय स्तरमा प्रचारप्रसार गर्नु पर्छ । डढेलो लगाउने व्यक्तिलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनु पर्छ । सामुदायकि वन उपभोक्ता समूहलाई डढेलो लाग्न नदिन र लागिहाले नियन्त्रणका लागि जिम्मेवार बनाउनु पर्छ । स्थानीय स्तरमा डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गर्नु पर्छ । डढेलो लाग्ने समयमा वन हेरालु राखी निरन्तर वनको गस्ती गर्नु पर्छ । सामुदायिक जङ्गलमा भएको बिजुलीका तार तथा पोल मर्मत गरिरहनु पर्छ । बिजुलीको तारले रुखबिरुवा छुन हुँदैन । 

जङ्गलमा फाइर लाइन कोर्नु पर्छ । यसले डढेलो लागिहाले त्यसको प्रभाव ठुलो हुन पाउँदैन । शून्य डढेलो अर्थात् डढेलो लाग्नै नदिने र लागिहाले तत्कालै नियन्त्रण गर्ने सामुदायिक वन तथा व्यक्तिलाई पुरुस्कृत गर्नु पर्छ । 

अन्त्यमा, प्रत्येक वर्ष डढेलोकै कारण ठुलो मात्रामा हुने धनजनको क्षति कम गर्न, जैविक विविधताको हानिनोक्सानी रोक्न र वातावरण प्रदूषण (कार्बन उत्सर्जन) कम गर्न डढेलो नियन्त्रण गर्नु अपरिहार्य छ । नेपालमा कार्बन व्यापारबाट विदेशी मुद्रा आर्जन गर्नसमेत डढेलो चुनौती बनेको छ । कार्बन उत्सर्जन गर्ने घातक स्रोतको रूपमा डढेलो देखा परेको छ, जसले धुवाँ उत्पादन गर्छ । धुवाँ उत्पादन कार्य विकसित राष्ट्रले उद्योगमार्फत गरेका छन् भने नेपालले डढेलोमार्फत । अतः सबै क्षेत्रबाट आजैदेखि ‘नेट जिरो फरेस्ट फायर’ अभियान सुरु गरौँ । 

Author

लोकबहादुर कार्की