• १ जेठ २०८१, मङ्गलबार

अवधी लोककला प्रशिक्षण

blog

काठमाडौँ, वैशाख १७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागले तीनदिने ‘अवधी लोककला गोष्ठी र प्रशिक्षण’ सुरु गरेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले आइतबार प्रशिक्षण उद्घाटन गर्नुभयो ।  

शिक्षा तथा संस्कृति प्रवर्धन केन्द्र कपिलवस्तुको संयोजनमा आयोजित प्रशिक्षणमा ४० जनाभन्दा बढीले तालिम लिने छन् । प्रमुख पौडेलले नगरका विभिन्न स्थानका भित्तामा अवधी चित्र बनाउन आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदीप अधिकारीले अवधि लोककलाको विकास तथा पुस्तान्तरण गर्न प्रशिक्षण राखिएको जानकारी दिनुभयो ।

लेखक तथा संस्कृतिकर्मी विक्रममणि त्रिपाठीले ‘अवधी लोकचित्रकलामा व्यावसायिकताको आवश्यकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा अवधी लोकचित्रकला अन्तर्गतका व्रत तथा पर्वमा बनाइने भित्तीचित्र (गुडिया, रक्षाबन्धन, तिनछट्ठी, करवा चउथ, दीपावली), संस्कारमा बनाइने भित्तीचित्र (कोहबर, छठी चित्र, मैहर द्वार, ऐपन, गङ्गा यमुनाको लोकचित्रण, सोनचिरैया), भूमिचित्र (चउक पुरन, ठप्पा चित्र), गोदना, मेहदीलगायतका इतिहास, वर्तमान अवस्था र महत्वबारे चर्चा गरिएको छ । 

टिप्पणीकर्ता रामदयाल ठाकुरले इतिहासको अनुहार लोककला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अवधि कला हाम्रो समाज र घर घरबाट निस्कने गर्छ । अहिले पक्की घर बन्न थाले । गोबर/माटाको आकृति बनाउने चलन हरायो ।” पशुपतिमणि त्रिपाठीले लोककलाको क्षेत्र विशाल भएको तर यसको लिखित दस्ताबेज नपाइने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जन्मदेखि मरणसम्मका विविध सांस्कृतिक संस्कारमा लोककला प्रयोग हुँदै आएको छ । त्यसको पुस्तान्तरण हुनु पर्छ ।”