• १ जेठ २०८१, मङ्गलबार

इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने

blog

काठमाडौँ, वैशाख १७ गते । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवाले आफ्नो सेवा क्षेत्र परिवर्तन गर्न सक्ने भएका छन् । 

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचनामार्फत कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जानकारी गराएको हो । 

सो शाखाका अनुसार सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपालीलाई क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिएको छ । शाखाको सूचनामा रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ तारिखभित्र वा आगामी पुस १५ गते समाप्त हुने भएकाले इच्छुक व्यक्तिले रोस्टर परिवर्तन गर्न सक्ने छन् ।

 मानव संसाधन विभाग (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेको नामावलीसहितको तालिका बिहीबार पठाएको इपिएस कोरिया शाखाले जनाएको छ । 

शाखाका अनुसार नौ हजार ४२८ जनाको नाम प्राप्त भएका छ । यदि कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने नपाइने शाखाले सूचनामार्फत स्पष्ट पारेको छ ।

सो शाखाका निर्देशक मैया कँडेलले रोस्टरमा रहेका नौ हजार ४२० नेपालीमध्ये इच्छुकले क्षेत्र परिवर्तन गरी सेवा क्षेत्रमा जान सक्ने जानकारी दिनुभयो । उहाँका अनुसार यसलाई नेपालले अवसरका रूपमा लिएको छ । रोस्टर परिवर्तन गरेर सेवा क्षेत्रमा गए पनि करार सम्झौता नभए रोस्टरको अवधिभित्र पुनः साबिकको क्षेत्रमा फर्कन पाउने विकल्पलाई अवसरका रूपमा लिनु पर्छ । सेवा क्षेत्रमा रोस्टर परिवर्तन गर्नेको नामावली २०२४ मे ३ तारिख सम्ममा कोरिया पठाउनुपर्ने र तत्कालै श्रम सम्झौता आउने शाखाले जनाएको छ । 

सो शाखाका अनुसार सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन । सेवा क्षेत्रमा हालसम्म कोरियाले नेपालबाट श्रमिक लिएको छैन । यो रोस्टर परिवर्तनपछि भने नेपालबाट पहिलो पटक सेवा क्षेत्रमा नेपाली कोरिया प्रवेश गर्न पाउने छन् । 

हाल रोस्टरमा रहेका कतिपय युवाको दुईवर्षे रोस्टर अवधि समाप्त हुने क्रममा छ । कति नेपालीलाई सेवा क्षेत्रमा लैजाने भन्नेबारे कोरिया पक्षले केही जानकारी दिएको छैन । कोरियाको सेवा क्षेत्रलाई अन्यभन्दा रोजगारीको राम्रो क्षेत्र मानिन्छ । 

यसअघि कोरियाको सेवा क्षेत्रमा चिनियाँ नागरिकले धेरै अवसर पाउने गरेका थिए । अन्य क्षेत्रको तुलनामा सेवा क्षेत्रलाई कम जोखिम र सजिलो कामको क्षेत्रका रूपमा मानिँदै आएको छ । रोस्टरमा रहेका कतिपय नेपालीको रोस्टर अवधि समाप्त हुने चरणमा रहेका कारण उनीहरूलाई क्षेत्र परिवर्तन गरेर भए पनि तत्काल रोजगारीको अवसर दिन लागिएको हो । 

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौँ युवाले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याललाई अनुरोध गर्दै आएका छन् । गुनासो प्राप्त भएपछि मन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक पटक छलफल गर्नुभयो ।