• ११ मंसिर २०८१, मङ्गलबार

आयोजक क्लबका राजन सुवेदी अगाडि

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

ललितपुर, वैशाख १६ गते । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ स्थापना दिवसको अवसरमा जारी नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्वी नेपाल झापा जिल्लाका राजन सुवेदी अगाडि रहनुभएको छ ।

सुवेदी आयोजक क्लबबाट बुद्धिचाल खेल्दै पाँच खेलमा पाँच जित हासिल गरी नकआउट तर्फ अग्रसर हुनुभएको हो । उहाँले ललितपुरका सोम आलेमाथि पिस अप हुँदै जित निकाल्नुभएको हो ।

क्लासिकल खेलको समाचार कोर्दै गर्दा सम्ममा वार्ड नं. चारमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले ललितपुरका अशोक मोहन श्रेष्ठमाथि विजयी हुँदै ४.५ अङ्क बनाउन सफल हुनुभयो ।  बनेपाका राहुल चौप्रधान र भक्तपुरका निकेन कुसाथा बिचको खेल बराबरी भएको छ।

त्यसैगरी मखन चेस क्लब काठमाडौँका सिताराम अग्रवाल र काठमाडौँ चेस क्लबका प्रेमकृष्ण महर्जनको खेल पनि बराबर हुन पुगेको छ । रुपेशसँगै उहाँहरूले पनि ४.५ अङ्क बनाएर सेमिफाइनल खेल्ने सम्भावना देखाउनुभएको छ ।

भर्खर मात्र युवा १६ को राष्ट्रिय उपाधि पाएका पुरुषोत्तम सिलवालले कालोगोटीबाट खेल्दै क्षितिज भण्डारीसँग प्रतिस्पर्धा गरिरहनुभएको छ । सातौँ संस्करणको पूर्व विजेता मिलन लामा र पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीबिच कडा मुकाबला चलिरहेको छ। अर्को बोर्डमा आठौँ संस्करणको पूर्व विजेता केशव श्रेष्ठ र रुकुम जिल्लाका मिलन रोकाबिच पनि कडा भिडन्त भइरहेको छ। 

महिला खेलाडीतर्फ सिन्दिरा जोशी र शान्ति धिमाल समान अङ्कमा फरक प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा भइरहेको छ । सिन्दिराले दोस्रो चरणको खेलमा भेट्रान १९०८ उच्च रेटेड जनार्दन श्रेष्ठलाई पराजित गरी अप्रत्याशित नतिजा निकाल्न सफल हुनुभएको थियो ।  

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले ११० जना राष्ट्रिय शीर्ष खेलाडी सहभागी मध्येका विजेताले दुई लाख ५४ हजार नौ सय रुसिपयाँ बराबरको यामाहा सलुटो मोटर साइकल हात पार्ने जानकारी दिनुभयो । 

जसमध्ये ४० खेलाडीले कूल पुरस्कार ६ लाख ३७ हजार चार सय रुपियाँ पाउनेछन्।