• ३० वैशाख २०८१, आइतबार

मूल सुकेपछि दमकलबाट पानी वितरण

blog

पानी स्रोत सुकेपछि दमकलले पानी वितरण गर्दै । तस्बिर: विजयकुमार

विजयकुमार साह 

ढल्केबर, वैशाख १६ गते  । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीका स्रोत सुकेपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । पछिल्लो समय यहाँ चापाकल र अन्य पानीका स्रोत सुकेपछि वितरण गर्न थालिएको हो । 

नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले नगरपालिकाको उत्तरी क्षेत्र दुर्गाटोल र दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताउनुभयो । ति दुवै गाउँमा रहेको चापाकल सुकेर पानी आउन बन्द भएको छ । चापाकलमा पानी आउन बन्द भएको गाउँका बासिन्दालाई विगत एक सातादेखि वारुण यन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो । 

नगरपालिकासँग खानेपानी ट्याङ्कर नभएकाले पानी वितरणका लागि वारुण यन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै नगर प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले पानीको दीर्घकालीन समस्या समाधानसमेत जुटेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “दुर्गाटोलस्थित महादेव मन्दिर नजिक बिग्रेको अवस्थामा रहेको डिप ट्युबवेल सञ्चालन ल्याउन मर्मत सम्भारको काम भइरहेको छ । त्यसलगायत सोही बस्तीमा २० लाख रुपियाँको लागतमा एक थान नयाँ डिप ट्युबवेल र तीन वटा इनार खन्ने योजनामा काम भइरहेको छ ।” 

त्यस्तै, दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको नगर प्रमुख यादवको भनाइ छ । दिगम्बरपुरमा पनि २० लाख रुपियाँको लागतमा नयाँ डिप ट्युबवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

स्थानीय सितेशकुमार झाले जमिन मुनी पानीको जल स्तर तल हुँदै गएकाले  पानीका स्रोत सुकेको बताउनुभयो । उहाँले विगत केही वर्षदेखि सुख्खा याम सुरु भएसँगै यस क्षेत्रमा पानी स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यलाई आग्रह गर्नुभयो । 

धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाइ छ ।