• २९ वैशाख २०८१, शनिबार

सामाजिक विभेद पखाल्दै उपप्रमुख

blog

बैतडी समाचारदाता 

बैतडी, वैशाख १६ गते । खेतमा लगाउने गहुँको बिउ किन्न अर्को गाउँ पुगेका बेला तिर्खा लागेर पानी माग्दा फुन्नी बादीलाई घर ठेगाना र जात सोधियो । स्टिलको लोटामा पानी दिने तयारी गर्दा बादी थर सुन्नेबित्तिकै सो लोटा फिर्ता लगेर प्लास्टिकको भाँडामा पानी पिउन बाध्य बनाइयो । 

पाटन नगरपालिका–६, परिवर्तिन नाम बयलबाटा टोलकी फुन्नी बादीले जातकै कारण अपमानित हुनुपरेको तितो अनुभव पाटन नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कमलसिंह बोहोरालाई सुनाउनुभएको हो । 

यस्ता समस्या खोज्दै जाँदा नगरपालिकाभित्रका थुप्रै दलित बस्ती र बस्तीमा बसोबास गर्नेको नाम र थर नै अपहेलित हुने किसिमको भएको उपप्रमुख बोहोराले सुनाउनुभयो ।

उहाँ अपमानको हिलोमैलो पखालेर दलित बस्तीका नाम फेर्न अग्रसर बन्नुभएको छ । उपप्रमुख बोहोराले बादीको गाउँको नाम फेरेर बयलबाटा टोल नामकरण गरिएको साइनबोर्ड राख्नुभएको छ । 

वडाबाट सिफारिस लिन जाँदा र विद्यार्थी भर्ना गर्दा अहिले कागजपत्रमा बयलबाटा नाम लेख्न पाउँदा खुसी लागेको स्थानीय विमला दासले बताउनुभयो । वादी समुदायलाई बैतडीमा भाड भनेर अपमानित नामले बोलाउने कुप्रचलन छ । फुन्नी वादीको सो गाउँको नाम भडाड/भटाड भनिन्थ्यो । जनप्रतिनिधिको अगुवाइमा भटाडसहित पाटन नगरपालिकाभित्रका २२ वटा दलित बस्तीका अपहेलित नाम परिवर्तन भएका छन् ।   

दलित समुदायका बस्तीको नाम मात्रै होइन, मृत्युपछि पुग्ने चिहानघाटको नामसमेत अपमानजक रहेका छन् । पाटन नगरपालिका–५, डुमेउडा गाउँको नाम फेरेर अहिले सिर्जना टोल राखिएको छ । 

सोही ठाउँको डुमचेडा (डुम चिहान) को नाम फेरेर रानीघाट राखिएको उपप्रमुख कमलसिंह बोहोराले बताउनुभयो । संविधानमा जातीय विभेद गर्न नपाइने स्पष्ट व्यवस्था भए पनि गाउँ समाजमा जातपातको हिलोमैलो कायम रहेको उहाँले बताउनुभयो । दलित बस्तीको नाम भुलेउडा, डुमेउडा, ढोल्यौडा राखिनु बेइज्जती भएको भनाइ उहाँको छ । 

नगर कार्यपालिकाको बैठकबाट पाटन नगरपालिकाभित्र रहेका दलित टोलका अपहेलित नाम फेर्ने निर्णय अनुसार एक वर्षदेखि गाउँबस्तीमा पुगेर नयाँ नामका साइनबोर्ड फेर्न थालिएको छ । पाटन नगरपालिका–१ नम्बरको रामपुर, २ नम्बर वडाको पल्लोसिहा, ५ नम्बर वडाका सिर्जना टोल, रानीघाट, ६ नम्बर वडाका तल्लोलोर्खा, तिलगाउँ, बयलबाटा, तल्लो लामाखेत, पल्लो नागाडीबाटा, ७ नम्बर वडाका सुनधारा, नागडुङ्गा, ढुङ्गेधारालगायत २२ वटा दलित बस्तीका नयाँ नाम फेरिएका छन् ।