• ३० वैशाख २०८१, आइतबार

‘आमा द्रौपदी’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख १६ गते । लेखक कृष्णप्रसाद बस्यालको स्मृति काव्य ‘आमा द्रौपदी’ सार्वजनिक गरिएको छ । रिडी–राम्दी पाल्पाली समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले सो कृति सार्वजनिक गर्नुभएको हो । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले आफ्नो सिङ्गै जीवन सन्तानको उन्नति, प्रगतिको कामना गर्दै बिताउने आमाको स्मृतिलाई कृतिमै उतार्नु निकै सराहनीय कार्य भएको बताउनुभयो । 

उहाँले २० वर्षमै विधवा भएर सारा जीवन छोराको ममता र कल्याणका लागि समर्पित आदर्श आमाको यथार्थ कथाबारे कृतिमा छर्लङ्ग पारिएको चर्चा गर्नुभयो ।

युवराज मैनालीले स्वर्गीय आमाको स्मरणमा लेखिएको कृतिका सिलसिलेवार पङ्क्ति शोक काव्य नभई स्मृति काव्य बनेको बताउनुभयो । उहाँले आफ्नी ममतामयी, त्यागी सन्तानका लागि समर्पित जीवन बाँच्नुभएकी आमालाई  द्रौपदी कृतिमार्फत लेखक बस्यालले अमर बनाउनुभएको चर्चा गर्नुभयो ।  लेखक कृष्णप्रसाद बस्यालले १४ वर्षकी उमेरमा विवाह भएर १९ वर्षको उमेरमा आफूलाई जन्म दिनुभएको र २० वर्षकै उमेरमा विधवा भएर पनि सारा जीवन मेरै लागि बाँच्नुभएकी आमाको सम्झनामा ‘आमा द्रौपदी’ कृति प्रकाशन गरिएको स्पष्ट पार्नुभयो ।

लेखक बस्यालले भन्नुभयो, “आमा सबैका लागि ममतामयी नै हुन्छन् । सबै आमाले गर्ने माया, स्याहार हेरचाह, उन्नतिका लागि गर्ने त्याग बराबर नै भए पनि एकल जीवन बिताएर फरक परिस्थितिमा आमाले गर्नुभएको त्याग अतुलनीय रहेको छ ।” उहाँको यसअघि कविता सङ्ग्रह सुस्केरा, अभिशप्त सडकको मौन आवाज, दण्ड सजाय र फैसला कार्यान्वयन, नियात्रा आफ्नै यात्रा : आफ्नै अनुभूति, परिणति, आँखामा अमेरिका मनमा नेपाललगायतका पुस्तक प्रकाशित छन् ।