• २७ वैशाख २०८१, बिहिबार

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना आवश्यक छ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी । तस्बिरः रमेश पौडेल

रमेश पौडेल 

पोखरा, वैशाख १५ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई संघीय ऐनमानै जन्मकैदको व्यवस्था गर्नुपर्ने  बताउनुभएको छ।

उहाँले संघीय ऐनमानै डढेलो लगाउनेलाई कडा कारवाही व्यवस्था गर्नसके डढेलोका कारण भएको क्षति तथा वातावरणीय प्रदुषण नियन्त्रण गर्न सहज हुने बताउनुभयो।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको नीति निर्माणकर्तासँग वन नीतिमा छलफल कार्यक्रममा बोल्दै उहाँले अहिले जतासुकै डढेलोको घटना भएको तर डढेलो लगाउनेलाई कारबाही गर्न नसक्दा वातावरणीय प्रदूषण मात्र नभई अन्य जोखिम समेत बढ्दै गएको बताउनुभयो।

जानेर वा नजानेर वन जंगलमा डढेलो लगाउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न समस्या देखिएको उल्लेख गर्नुभयो।  ‘‘चराचुरुङ्गी र उनीहरुको बासस्थान खतम भएको छ, सिमसार  सुकेका छन्, मूलहरु सुकेका छन्’’, उहाँले भन्नुभयो।

‘‘चैत्र वैशाखको खडेरीमा डढेलो लगाइदिएपछि बर्खा याममा अनि पानी पर्छ, हाम्रो काँचो चट्टान छ, बाढी पहिरो जान्छ’’, उहाँले थप्नुभयो।

वन पैदावार पालिकाले वा उपभोक्ताले संरक्षण मात्र गर्नुपर्ने तर उपयोग गर्न नपाउने कारणसमेत समुदायमा उत्तरदायित्वको भावना विकास हुन नसकेको हुन सक्ने भएकोले यसतर्फ सोच्नुपर्ने उहाँको भनाइ थियो।

अन्नपूर्ण संरक्षण आयोजना, मकालु संरक्षण आयोजना, राष्ट्रिय निकुञ्ज, सिकार आरक्ष लगायतका आयोजना प्रदेशमा हस्तान्तरण हुनुपर्ने उहाँले बताउनुभयो।

संघीय कानुनको कुरा फेर्न नसके पनि प्रदेशको वन ऐनमा केही न केही कुरा समावेश गरिएको दाबी उहाँको थियो।