• २७ वैशाख २०८१, बिहिबार

बझाङमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान

blog

बझाङको खप्तडछान्ना गाउँपालिका –५ स्थित खप्तड उच्चमाविमा मतदानका लागि पुग्नुभएका मतदाताहरु ।

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १५ गते । बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा आज बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदाताले मतदान गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।

उहाँले अहिले मतदान गर्नेको सङ्ख्यामा कमी भए पनि खाना खाएपछि बढ्ने बताउनुभयो । उहाँले बिहान गहुँ काट्ने काम हुने भएकाले मतदाता दिउँसो मतदान गर्न आउने विश्वास गर्नुभयो ।

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–५ स्थित खप्तड उच्च माविमा एक हजार ८०० मतदाता रहेकोमा दिउँसो ११ः३० सम्म तीनसय जनाले मात्र मतदान गरेको स्थानीय लोकेन्द्रबहादुर सिंहले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका अनुसार जिल्लाभरी शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको सो क्षेत्रको चुनावमा सात पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी छन् । 

सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सुर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् । मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । 

उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइनेछ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । 

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।