• २३ वैशाख २०८१, आइतबार

ऐतिहासिक तस्बिरको प्रदर्शनी

गोरखापत्रले ऐतिहासिक तस्बिरको संरक्षण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी

blog

फोटो खिँचेर ऐतिहासिक तस्बिर प्रदर्शनी उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी । साथमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीलगायत । तस्बिर : सागर बस्नेत

काठमाडौँ, वैशाख १३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गोरखापत्र संस्थानमा रहेका ऐतिहासिक तस्बिरको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

गोरखापत्र प्रकाशन १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सव साथै राष्ट्रिय फोटो पत्रकारिता दिवस- २०८१ को अवसरमा संस्थानमा आयोजित ‘इतिहासलाई फर्केर हेर्दा गोरखापत्रका दुर्लभ, ऐतिहासिक महत्त्वका तस्बिरहरूको प्रदर्शनी’ को उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

उहाँले २०३० देखि २०६० सालसम्मको ऐतिहासिक तस्बिर सङ्कलन गरेर अनुसन्धानको पाटो बनाउन सकिने भन्नुहुँदै यसलाई पुँजीमा रूपान्तरण गर्न सक्नुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी ।

उहाँले भन्नुभयो, “यसलाई अनुसन्धानको पाटो बनाउन सकिन्छ । किनकि, गोरखापत्र खुला विश्वविद्यालय हो । यसको प्रवर्द्धन गर्न कस्तो खालको रणनीति बनाउने हो भन्ने विषयमा  मन्त्रालयले सहजीकरण गर्नेछ । गोरखापत्रलाई समृद्ध बनाउने कुरामा मिलेर गयौँ भने उद्देश्यमा पुग्न सकिन्छ ।”

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानको तस्बिर प्रदर्शनी सामान्य खालको नभएको उल्लेख गर्नुभयो । उहाँले एक सय २३ वर्षको गोरखापत्रको इतिहासलाई सङ्ग्रह र सुरक्षित गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, “सरकारले गोरखापत्र प्रकाशन भएको दिनलाई पत्रकारिता दिवस भनेर मनाउने घोषणा गर्‍यो । फोटो छापिएको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने भनियो । यो सम्पूर्ण गोरखापत्र परिवारका लागि गर्वको विषय हो ।” 


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । 

ऐतिहासिक तस्बिर प्रदर्शनीले वर्तमान समाजलाई विगतको चित्र र चरित्रबारे बुझ्न सहज हुने उहाँको भनाइ छ । उहाँले अर्काइभिङ तथा डिजिटलाइजेशनको काम भइरहेको जानकारी गराउनुभयो । त्रिभुवन विश्वविद्यालय र गोरखापत्रको पुस्तकालय समन्वय गरेर डिजिटल पुस्तकालय लगायतका कार्य सुरु गरेको उहाँको भनाइ छ ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रसँग पत्रकारिताको आफ्नै गौरवमय इतिहास रहेको बताउनुभयो । महाप्रबन्धक ऐरीले भन्नुभयो, “गोरखापत्र र यसका प्रकाशनसँग नेपालका इतिहासका धेरै सन्दर्भ जोडिएका छन् । पत्रकारिताको इतिहास नै गोरखापत्रबाट जोडिन्छ ।”

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । 

उहाँले विगतका इतिहास समकालीन समाजलाई जानकारी गराउन फोटो प्रदर्शनीको महत्त्व रहेको भनाइ राख्नुभयो ।

गोरखापत्रको कला तथा फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले विगत गोरखापत्र संस्थानमा रहेका २०३० देखि २०६० सालसम्मका ऐतिहासिक तस्बिरलाई संरक्षण एवम् प्रदर्शन गर्ने कार्य विगत एक वर्षदेखि सुरु भएको बताउनुभयो ।

हुमागाईँले भन्नुभयो, “२०३० देखि २०६० सालसम्मका श्यामश्वेत तस्बिर कसरी संरक्षण गर्ने भन्ने चुनौती थियो । आम नागरिकमा स्रोत, साधनको पहुँच थिएन । फालिएका डेढ सय बाक्साका फोटो र त्यसबाट छानिएका मुख्य घटनाक्रमका फोटो प्रदर्शनीमा छन् ।”

कार्यक्रममा गोरखापत्र संस्थान सञ्चालक समितिका सदस्य राजुकुमार महत, सचिन पोखरेल, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया लगायत विभिन्न शाखा तथा विभागका प्रमुख उपस्थित हुनुहुन्थ्यो । 

ऐतिहासिक तस्बिर प्रदर्शनी संस्थानको नयाँ भवनमा वैशाख १३ गतेदेखि २३ गतेसम्म बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।