• २४ वैशाख २०८१, सोमबार

हेटौँडा सिमेन्टको जीर्ण बकेट झरेर दुर्घटना हुने जोखिम

blog

हेटौँडा–१ चाइना क्वाटरस्थित बस्तीमाथि रहेको रोपवेका जीर्ण बकेट दुर्घटना हुने जोखिममा । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख १२ गते ।
मकवानपुरको हेटौँडा–९, लामसुरेमा केन्द्रीय कार्यालय रहेको हेटौँडा सिमेन्ट उद्योगको जीर्ण बकेटहरु (क्यारियर) झरेर दुर्घटना हुने जोखिम बढेको छ । हेटौँडा–१ चाइना क्वाटरस्थित बस्तीमाथि रहेको रोपवेका बकेटहरु झरेर दुर्घटना हुन सक्ने जोखिम बढेको हो ।

२०४३ सालबाट दुई दशकसम्म भैंसेखानीबाट चुनढुङ्गा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको थिएन । टावर, स्टेशन, सबस्टेशन भत्कने, क्यारियरहरु पनि झर्ने गरिरहेका छन् । प्रतिघण्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेकोमा बिग्रिएर झर्दै गएपछि हाल दुई दर्जनभन्दा बढी बकेट झरिसकेका छन् ।

उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्मका चुनढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द भएको थियो । २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो ।  करिब आठ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि रोपवे बन्द भएको थियो ।

लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको रोपवेको उपकरण लिलाम बिक्रीका लागि तयारी गरिएको छ । उद्योगले भैंसेखानीदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पाटपूर्जा बिक्री गर्न लागेको हो । एक दशकअघि पटकपटक प्रयास गर्दा पनि रोपवे उपकरण खरिद गर्न कसैले इच्छा नदेखाएपछि उद्योगले रोपवे बेच्न पुनः प्रयास थालेको छ ।

उद्योगले रोपवेको सामाग्री पुनः मूल्याङ्कनका लागि भण्डार शाखा प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा यसअघि नै समिति बनाएको थियो । केही महिनाअघि बनेको मूल्याङ्कन समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट एक÷एक जना र उद्योगबाट दुई जना प्रतिनिधि रहेका रहनुभएको छ । समितिले मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको र सञ्चालक समितिबाट निर्णय गरेर लिलाम बिक्रीको सूचना जारी गर्ने तयारी रहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिनुभयो ।

२०७० सालयता दुई वर्षसम्म पटकपटक मूल्याङ्कन गरी करिब आधा दर्जनपटक सूचना प्रकाशन गर्दा पनि रोपवे उपकरण खरिद गर्न सकैले इच्छा नदेखाएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो । मूल्याङ्कन समितिले प्रतिवेदन तयार गरिसकेको जानकारी दिंदै सञ्चालक समितिबाट निर्णय गर्ने तयारी हुँदै गर्दा सञ्चालक समितिका अध्यक्ष बित्नुभएको कारण हाल काम अघि बढेको छैन । नयाँ अध्यक्ष नियुक्त भएपछि तत्काल निर्णय गराई रोपवे लिलाम बिक्रीको प्रक्रिया अघि बढाउने योजना रहको छ ।

प्रयोगविहीन रोपवे करोडौं खर्च गरेर मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि उद्योगले हटाउने योजना बनाएको हो । उद्योगले करिब एक दशकअघि पहिलोपटक जारी गरेको सूचनामा रोपवे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृध्दि कर बाहेक न्यूनतम मूल्य ६ करोड १६ लाख ५३ हजार कायम गरेको थियो । खरिदकर्ताको अनिच्छापछि उद्योगले पछिल्लोपटक ४ करोड ६१ लाखमा झारेको थियो ।