• २४ वैशाख २०८१, सोमबार

आगो निभाउँदा दुई जना घाइते

blog

जनार्जन खत्री

सर्लाही, वैशाख १२ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा आगलागी निभाउने क्रममा दुई जना जलेर घाइते भएका छन् । 

मङ्गलवार राति मिर्जापुरका रामचन्द्र महतोको घरमा लागेको आगो निभाउने क्रममा घरधनी ४३ वर्षीय महतो र सोही ठाउँका २३ वर्षीय राज मङ्गल घाइते हुनुभएको हो । घरधनी महतोको दुवै हतकेला र दुवै खुट्टा र राज मङ्गलको दाहिने हात र पिठ्यूँ पोलेर सामान्य घाइते भएका प्रहरीले जनाएको छ । 

घाइते दुवै जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भइसकेका छन् । बिजुलीको तार सर्ट भएर भएको आगलागीबाट रामचन्द्र महतोको घर भने पूर्ण रुपमा जलेको छ । 

मङ्गलवार राति साँढे ८ बजेतिर भएको आगलागीबाट महतोको घरसहित घरभित्र रहेको सम्पूर्ण सरसमान र छोरीको विवाहका लागि किनेको कपडा तथा सामग्री समेत जलेर खरानी भएको स्थानीयले बताएका छन् । यसैबिच कविलासी नगरपालिका–२, पिपरियामा मङ्गलवार साँझ आगलागीमा परेर चार जना किसानको परालको कुन्यू जलेर नष्ट भएको छ । 

बाँस घारीमा कुन्यू लगाएर राखेको पराल जलेर खरानी भएको हो । आगलागीबाट पिपरियाका बारिस सेखको ३० हजार, हृदय रायको १५ हजार, बहादुर रायको १५ हजार र बिजिन्दर पासवानको १५ हजार रुपियाँको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

परालको कुन्यूमा भएको आगलागीको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।