• ११ मंसिर २०८१, मङ्गलबार

वज्रयोगिनी जात्रा सुरु

blog

काठमाडौँ, वैशाख १२ गते । साँखुको प्रसिद्ध वज्रयोगिनी जात्रा मङ्गलबारदेखि सुरु भएको छ । जात्राका लागि वज्रयोगिनी देवतालाई मन्दिरबाट बाहिर निकाल्ने (क्वहाँ बिज्या) कार्य गरिएको छ । चैते दसैँको दिनदेखि जात्रा सुरु भएको सङ्केतस्वरूप नाय्खीँ बाजा बजाएर नगर परिक्रमा गरिन्छ । 

जात्राका लागि वज्रयोगिनी मन्दिरबाट वज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित वज्रयोगिनीबाट साँखु धुँल्लासम्म ल्याइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोतीजडित मुकुटले सजिएकी तीन नेत्र भएकी वज्रयोगिनीको जात्रा गर्ने परम्परा छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन सुरु भएर वैशाख कृष्ण अष्टमीसम्म आठ दिन चल्ने जात्रा चार दिनपछि शुक्रबार मुँ जात्राका रूपमा साँखुवासीले मनाउने गर्छन् । पाँच थकाली गुर्जुसहित वज्रयोगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाई तान्त्रिक देवीका रूपमा रहेकी वज्रयोगिनीको पूजाअर्चना गरिन्छ । 

संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार यो जात्रा तीन हजार तीन सय वर्षदेखि मनाइँदै आएको छ । नायखीँ बाजा बजाएर नगर परिक्रमा गरेर झ्याली पिट्दै साँखुका ऐतिहासिक आठ वटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै जात्रा चलाइएको हो ।

उहाँका अनुसार जात्रा सुरु गर्न नायखीँ बजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने परम्परा छ । जात्रा अवधिमा साँखु क्षेत्रमा निर्माण कार्य गर्दा दुर्घटना भई मानिसको मृत्यु हुन सक्ने भएकाले घर बनाउन र भत्काउन नपाइने चलन रहेको बताइन्छ । 

वज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजु बाइसधारामा मेला लाग्ने परम्परा छ । चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रायणी, चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीको काम नगर्ने चलन छ ।