• २२ वैशाख २०८१, शनिबार

मनाङमा विदेशी पर्यटक बढे

blog

पर्यटन सूचना केन्द्र धारापानीबाट गन्तव्यतर्फ लाग्दै पर्यटकहरु ।

यदुप्रसाद भट्ट

मनाङ, वैशाख ११ गते । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसरह नगरपालिका–७ मनाङे चौताराबाट सुरु हुने मनाङ यात्रामा वर्ष २०८० मा २१ हजार ४ सय ९५ पर्यटक मनाङ भित्रिएका छन् । कोभिडपछि मनाङमा पर्यटकको आगमन बढ्दै गएको छ । 

विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो अवस्थामा छ । हुन यहाँ स्वदेशी पर्यटक नआउने भने होइनन् । स्वदेशी पर्यटकको खासै तथ्याङ्क नराख्नाले कुनै हिसाबै हुँदैन । 

विदेशी पर्यटकमध्ये फ्रान्सेलीको रोजाइमा मनाङ परेको छ । एक वर्षको अवधिमा २ हजार ४ सय ८२ फ्रान्सेली पर्यटक मनाङ भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । फ्रान्सेलीपछि दोस्रो नम्बरमा इजरायली र तेस्रोमा जर्मन नागरिक रहेका छन् । इजरायलका १ हजार ८ सय २१ र जर्मनीका १ हजार ७ सय ५४ जना मनाङ भ्रमणमा आएको एक्यापको तथ्याङ्क छ । 

विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, "अन्य देशबाट पर्यटक आउने भएपनि यी देशका नागरिक बढी आउने गरेका छन्, सङ्ख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चीन, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको छ ।" २०८१ को पहिलो दिनमै १ सय १५ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको उहाँको भनाइ छ । 

सडक सञ्जालले मनाङ आउने आन्तरिक पर्यटकलाई समेत सहज बनाएको छ । आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद् भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँले ३/४ दिनको बिदा लगातार परेको बेला आन्तरिक पर्यटकले मनाङ भरिभराउ हुने बताउनुभयो । उहाँले भन्नुभयो, "नेपालीहरूमा पनि भ्रमण संस्कृतिको विकास हुँदै गएको छ, आन्तरिक पर्यटकको अभिलेख नराखिने हुँदा यति नै त भन्न सकिँदैन तर धेरै नेपाली मनाङ आउँछन् ।"

चाहे स्वदेशी हुन् या विदेशी यहाँ भित्रिने अधिकांश पर्यटक थोराङ्ला भन्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भन्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । केही दिन बिदा भएका बेला आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर मनाङ घुम्ने गर्दछन् ।

ऋतुका हिसाबले शरद् मनाङका लागि अति उत्तम मानिए पनि वसन्तमा पनि पर्यटकको पहिलो रोजाइ हुने गरेको छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ ।