• १२ मंसिर २०८१, बुधबार

महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न

blog

महाकुम्भ मेलाको दोस्रो शाही स्नान कोकाह कौशिकी सङ्गममा गरिँदै। तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, वैशाख ११ गते । प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पूर्ण महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न भएको छ । मङ्गलवार बिहान बाजागासहित वराहक्षेत्र मन्दिरको कोकाह कौशिकी सङ्गममा शाही स्नान गरिएको हो । 

चतराधामबाट शाही स्नान गर्न बाजगाजासहित भजन कीर्तन गर्दै हजाराैँको सङ्ख्यामा सर्वसाधारण र धर्मगुरुहरुले कोकाह कौशिकी सङ्गममा स्नान गरेका छन् । शाही स्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, भारतका जगतगुरु राम दिनेश आचार्य र वृन्दावन भारतका महन्त हेमकान्तशरण देवाचार्य, वराहक्षेत्र नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारको उपस्थिति थियो ।

शाही स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधीश, भक्तजनलगायत स्थानीय वासीहरुले कोकाह कौशिकी सङ्गममा शाही स्नान गर्नुभएको छ । शाही स्नान गर्न अघिल्लै दिन मानिसहरु कुम्भ नगरी चतराधाम आइपुगेका थिए । 

चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान छन् । पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते र प्रथम कुम्भ स्नान २०८१ वैशाख १ गते गरिएको थियो ।  

महिना दिनसम्म लाग्ने महाकुम्भ मेलामा पाँच दिन कुम्भस्नानका विशेष दिनहरु छन् । कुम्भमा नुहाए अक्षय प्राप्ति हुने धार्मिक मान्यता रहेकाले मानिसहरु देश विदेशबाट कुम्भस्नान गर्न चतराधाम आउने गरेको कुम्भ आयोजक समितिले जनाएको छ ।  

कुम्भ प्रारम्भ महास्नान चैत २७ गते भइसकेको छ । प्रथम कुम्भ शाही स्नान वैशाख १ गते, द्वितीय कुम्भ शाही स्नान वैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोशी नदीमा विधिपूर्वक स्नान गरिएको छ । त्यस्तै तृतीय कुम्भ शाही स्नान वैशाख २६ गते मातातीर्थ औंशीको दिन र वैशाख २८ गते कुम्भ समाप्तिका दिन शाही स्नान हुने कुम्भ मूल आयोजक समितिका सह अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो । 

कुम्भ मेला नेपालको एक मात्र स्थान सुनसरीको वराहक्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रुपमा सनातन हिन्दु धर्मावलम्बीले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसको जमघट हुने गर्दछ । 

पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रुपमा रहेको कौशिकी तटको किनारमा लाग्ने कुम्भ मेलामा नेपाल र भारतका शङ्कराचार्य, धर्माचार्य, जगतगुरु, सन्तमहन्त, पीठाधीश, मठाधीश, विद्वान, विदुषिलगायत लगायत धार्मिक पर्यटकहरुको बाक्लो उपस्थिति हुँदै आएको छ । कुम्भस्नान गर्नकै लागि भक्तजनहरु कुम्भ मेला आउने गरेका छन् । 

प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालेखि कुम्भको आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।