• २२ वैशाख २०८१, शनिबार

देखियो अति सङ्कटापन्न खरमजुर

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख ११ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अतिसङ्कटापन्न खरमजुर देखिएको छ । जङ्गल सफारीका क्रममा घाँसे मैदानमाथि उड्दै गरेको अवस्थामा खरमजुर देखा परेको नेचरगाइड महानन्द जोशीले जानकारी दिनुभयो । 

यसअघि चैत दोस्रो साता शुक्लाफाँटामा गरिएको खरमजुर गणनाका क्रममा सो प्रजातिको चरा एउटा पनि फेला परेका थिएनन् । शुक्लाफाँटामा केही सङ्ख्यामा खरमजुर रहेको तथ्याङ्क रहे पनि पहिलो चरणको गणनाका क्रममा खरमजुर नभेटिएपछि गणना टोली निराश भएर फर्किएको थियो । 

सो प्रजातिको चरा देखा परेकाले फेरि गणना हुने चराविद् एवं नेपाल पन्छी सङ्घ (बिसिएन) का प्रतिनिधि हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । बिसिएनले शुक्लाफाँटा निकुञ्ज कार्यालयसँग समन्वय गरेर खरमजुरको वार्षिक गणना गर्दै आएको छ ।

निकै न्यून सङ्ख्यामा रहेको खरमजुर खर र घाँसको झाडीमा बस्ने गरेकाले फेला पार्न हम्मे नै हुने गरेको डङ्गौराको भनाइ छ । प्रजननको सिजनमा पोथीलाई आकर्षित गर्न भाले खरमजुर घाँसमाथि उफ्रिने र उड्ने गरेकाले फेला पार्न सहज हुने गरेको जनाइएको छ । 

यो बेला खरमजुरको प्रजनन सिजन पनि हो । सन् २०२३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटा खरमजुर भेटिएका थिए । सन् २०२१ मा सात वटा खरमजुर फेला परेको तथ्याङ्कमा देखिन्छ । विगतमा शुक्लाफाँटाको करैयाफाँटा, मोहनपुरफाँटा, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रको घाँसे मैदानलगायतमा खरमजुर देखा परेको अभिलेख छ । 

अति सङ्कटापन्न खरमजुरको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्ने उद्देश्यका साथ पहिलो चरणमा चैत १४ बाट गणना सुरु गरिएको थियो । पहिलो चरणको गणनाका क्रममा घाँसे मैदानमा खरमजुर नदेखिएपछि अप्रिल १५ बाट पुनः गणना गर्ने निकुञ्ज कार्यालयको तयारी छ ।