• २१ वैशाख २०८१, शुक्रबार

बझाङ प्रदेश सभाका विजेता सरकार निर्माणमा निर्णायक

blog

चुनावी घरदैलोमा विभिन्न पार्टीका उम्मेदवार ।

प्रकाशविक्रम शाह

धनगढी, वैशाख ११ गते । बझाङमा प्रदेश सभा (क) क्षेत्रमा उपचुनाव भइरहेको छ । धेरैलाई लाग्छ, एक क्षेत्रमा भएको हारजितले के फरक पार्छ र । सो क्षेत्रबाट निर्वाचित भएर आउने प्रदेश सभा सदस्य भने सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा निर्णायक हुने छन् । 

प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर मृत्यु भएपछि यहाँ वैशाख १५ गते उपचुनाव हुँदै छ । यो क्षेत्र प्रदेश सरकार गठनका लागि निर्णायक भएकाले चुनावमा होमिएका प्रमुख दलहरूले यसलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट जो जसले जिते पनि वर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने पक्कापक्की छ ।

मुख्यमन्त्री सोडारीको पक्षमा एमाले, माओवादी, समाजवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र गरी सरकार बनाउन आवश्यक पर्ने २७ जनाको सङ्ख्या त छ तर एक मत थपिँदा ढुक्क हुने अवस्था सिर्जना भएको छ । सो क्षेत्रमा एमालेले जितेमा प्रदेश सभामा एमाले–माओवादी समान हैसियतको दोस्रो दल बन्ने छन् । माओवादी प्रदेश सभामा एक सिट बढी भएर दोस्रो दल छ । माओवादीका ११ र एमालेका १० जना प्रदेश सभा सदस्य छन् । अर्कोतिर एकीकृत समाजवादीले जितेमा उसको सङ्ख्या प्रदेश सभामा पाँच पुग्ने छ ।

एमाले, माओवादी, समाजवादीमध्ये कुनै एक दलको उम्मेदवारले जितेमा प्रदेश सभामा वामपन्थी घटकको एकल बहुमत पुग्ने छ । एमाले, माओवादी केन्द्र, समाजवादी र वामपन्थी स्वतन्त्र गरी २६ जना प्रदेश सभा सदस्य छन् । अर्कोतिर नेपाली कांग्रेस १८ सिटसहित प्रदेश सभाको पहिलो दल छ । अब सो क्षेत्रमा फेरि कांग्रेसले जित्दा कांग्रेसको १९ सिट पुग्ने छ । सो क्षेत्रबाट २०७९ सालको चुनाव जितेका सिंह नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो ।

यस पटक पनि सो क्षेत्रमा कांग्रेसले जित्दा विपक्षी प्रदेश सभा सदस्यको सङ्ख्या २५ पुग्ने छ । त्यसपछि सरकार बनाउन विपक्षीसँग दुई मत कम हुने छ । प्रतिपक्षी गठबन्धनमा कांग्रेसका १८,  नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी पक्षका पाँच र राप्रपाका एक जना छन् । बझाङमा प्रदेश सभा (क) क्षेत्रमा उपचुनावमा कांग्रेसले स्व. सिंहका छोरा अभिषेक सिंह, एमालेले दमन भण्डारी, माओवादीले जनकबहादुर बुढा र एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

चुनाव जित्ने दाबी सबैका आआफ्नै छन् । कांग्रेसले वाम मतदाता बाँडिने र स्व. सिंहप्रतिको सहानुभूतिस्वरूप उहाँका छोराले मत पाउने विश्वास गरेको देखिन्छ । कांग्रेसका प्रदेश महामन्त्री मेघराज खड्का बझाङमा कांग्रेसको सङ्गठन राम्रो रहेको,  युवालाई उम्मेदवार बनाएको, विपक्षीहरू पनि बाँडिएर लडेको, कांग्रेस एकताबद्ध रहेकाले कांग्रेसकै उम्मेदवार जित्ने दाबी गर्नुहुन्छ ।

यस्तै एमालेले २०७९ को प्रदेश सभा सदस्यको चुनावमा कांग्रेस, माओवादी, समाजवादी मिलेर बनेको गठबन्धनका कारण स्व. सिंहले जितेको तर यस पटक ती सबै दलका आआफ्ना उम्मेदवार रहेको र कांग्रेसमा आन्तरिक विवाद रहेकाले आफ्नो उम्मेदवारले जित्ने दाबी गरेको छ ।

एमालेका पोलिटब्युरो सदस्य तथा बझाङ इन्चार्ज राजेन्द्रसिंह रावल एमालेका उम्मेदवार जित्ने थप आधार उल्लेख गर्दै भन्नुहुन्छ, “हाम्रो पार्टीको उम्मेदवार सरल, जनतासँग भिजेको, जिल्लामै बस्ने, कुशल सङ्गठक भएकाले जित निश्चित छ ।” सो क्षेत्रमा २०७९ को चुनावमा  सिंहले १७ हजार ११२ र एमालेका अफिलाल उखेडाले १३ हजार ३३६ मत पाउनुभएको थियो । अर्कोतिर संविधान सभाका सदस्य बुढा माओवादीबाट उम्मेदवार हुनुहुन्छ । 

माओवादीका सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज बिना मगर आफ्नो दलका उम्मेदवारप्रति जनताको सहानुभूति त छँदै छ, माओवादीले २०७४ को चुनावपछि पहिलो पटक आफ्नो उम्मेदवार उठाउन पाएकाले कार्यकर्तामा उत्साह रहेको, अरू उम्मेदवारभन्दा माओवादी उम्मेदवार क्षमतावान् र सक्षम रहेकाले जित्ने आधार रहेको बताउनुहुन्छ ।

एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार बलियो रहेको दाबी गरेको छ । सो पार्टीका प्रदेश इन्चार्ज गरिमा शाहले दिलबहादुर सिंहले एमालेमा पनि राम्रो छवि बनाएको, एमालेका पूर्वअध्यक्ष नै भएकाले एमाले कार्यकर्ताको पनि सहानुभूति रहेको र २०५४ को जिविसको उपसभापति रहेकाले जित्ने आधार रहेको बताउनुहुन्छ ।