• २१ वैशाख २०८१, शुक्रबार

रित्तिँदै गाउँका विद्यालय, सहरमा विद्यार्थीको चाप : पूर्वाधार थपिए, विद्यार्थी घटे

blog

वीरेन्द्रनगर नगरपालिका–६ स्थित जननमुना माध्यमिक विद्यालयमा कक्षा नौको प्रवेश परीक्षाका लागि लामबद्ध विद्यार्थी । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, वैशाख ११ गते । बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा स्थापित यो विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयले यही स्कुलमा छोराछोरी पढाउँथे । अहिले यो विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ ।

पहिला धेरै विद्यार्थी हुँदा भुइँमा राखेर पढाउनुपर्ने अवस्था थियो, अहिले भव्य भवन छ, विद्यार्थी खासै छैनन् । विद्यालयमा दुई घण्टासम्म पैदल हिँडेर आउनुपर्ने बाध्यताले पनि विद्यार्थी सहरतिर धाउन थालेका हुन् । कतिपय अभिभावकले छोराछोरी पढाउनकै लागि सहरमा डेरा लिएर बस्ने र बेलाबेलामा गाउँमा गएर खेतीपाती गर्ने गरेका छन् । गाउँबाट सहरमा बसाइँसराइ र गाउँमा बेरोजगारीको समस्याका कारण अधिकांश विद्यार्थी सहरी क्षेत्रमा आएका हुन् । 

गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घट्दो छ । इन्द्रज्वाला आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर रामजाली शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास गरेको भए पनि गाउँमा बस्नेको सङ्ख्या घट्दै गएकाले विद्यार्थी पनि घटेको बताउनुहुन्छ ।

सुर्खेत लेकबेँसी नगरपालिका–१० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो छ । २०३६ सालमा स्थापना भएको यो विद्यालयमा कुनै बेला विद्यार्थीको घुइँचो लाग्थ्यो । अहिले यो विद्यालयमा १४० विद्यार्थी छन् । 

विद्यालयका प्रधानाध्यापक नरहरि पौडेलका अनुसार विद्यार्थी सङ्ख्या घट्नुमा बसाइँसराइ प्रमुख कारण हो । गाउँ गाउँमा दरबारजस्ता स्कुल बने पनि छोराछोरी पढाउन भनेर सहर झर्ने क्रम घटेको छैन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य दुर्गा गिरी गाउँमा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा भौतिक पूर्वाधारले सुविधा सम्पन्न विद्यालय खाली बन्दै गएको बताउनुहुन्छ । गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले बताउनुभयो । “शिक्षकलाई आफ्नो पढाउने कलाप्रति आफैँलाई विश्वास छैन, आफ्ना छोराछोरी सहरका बोर्डिङमा पढाउने, आफू चाहिँ सामुदायिक विद्यालयमा पढाउने ! यस्तो अवस्थामा कसरी अरूले विश्वास गरून् ?” उहाँले भन्नुभयो । 

सहरका विद्यालयमा चाप थेग्नै मुस्किल

वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । जननमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठका अनुसार नयाँ शैक्षिक सत्रका लागि प्रारम्भिक बाल विकास, कक्षा ६, ७, ८ र ९ मा बाहिरका विद्यार्थीका लागि भर्ना खुला गरिएको थियो । 

पाँच वटा कक्षामा छ सय विद्यार्थीका लागि भर्ना खुला गरिएको भए पनि अहिले दुई हजार चार सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विद्यार्थीको चाप थेग्न मुस्किल भएको उहाँको भनाइ छ । प्रधानाध्यापक श्रेष्ठका अनुसार बढीमा छ सय जना नयाँ भर्ना लिन सक्छौँ, दुई हजार चार सयको आवेदन परेको छ । भौतिक संरचना र जनशक्ति अभावले धेरै विद्यार्थी भर्ना गर्न समस्या हुने गरेको उहाँको भनाइ छ ।

अमरज्योति माध्यमिक विद्यालय नेवारेले प्रारम्भिक बाल विकासदेखि कक्षा नौसम्म नयाँ आवेदन माग गरेको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यालयले राखेको लक्ष्य पूरा गराउन खोजिएको छ । यस वर्ष पाँच सय थप विद्यार्थी भर्ना लिने लक्ष्य राखिएको भन्दै उहाँले करिब छ सय जनाको आवेदन परेको जानकारी दिनुभयो ।