• २२ वैशाख २०८१, शनिबार

‘कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँ’

blog

काठमाडौँ,  वैशाख १० गते । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ ।

पहिलोपटक कतारका अमिर नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी अमिरको भ्रमणले दुई देशबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि लिइएको छ ।

भ्रमणका क्रममा केही महत्त्वपूर्ण विषयमा द्विपक्षीय समझदारीसमेत हुने बताइएको छ । सरकारले कतारका अमिरको नेपाल भ्रमणका क्रममा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । कतारी अमिरको भ्रमणलाई देशभित्र र बाहिरसमेत असाध्यै महत्वका साथ लिइएको छ ।

पछिल्लो समय नेपालीको श्रम गन्तव्यका रूपमा परिचित कतारले भौतिक पूर्वाधार, सूचना प्रविधि, नागरिक उड्डयनका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने बताइएको छ । कतारले नेपालको ऊर्जा क्षेत्र त्यसमा पनि स्वच्छ ऊर्जामा लगानीका लागि इच्छा व्यक्त गरेको छ । त्यसलाई पनि कतारका अमिरको भ्रमणका क्रममा सरकारकोतर्फबाट विशेष आग्रह गर्नुपर्ने माग पनि उठेको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट कतार नेपालको भरपर्दो मित्र भएकाले पनि अमिरको भ्रमणले दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वास गर्नुहुन्छ । रासससँगको कुराकानीका क्रममा अध्यक्ष भट्टले भन्नुभयो, “विगतदेखि नै नेपाललाई खुला हृदयका साथ सहयोग गर्दै आएको कतार पछिल्ला दिनमा विकास र प्रविधिको केन्द्रका रूपमा विकास भएको छ । यसबाट नेपालले लाभ लिनुपर्छ ।”

उहाँका अनुसार वैधानिक तवरबाट कतारमा काम गर्न गएका नेपालीको सङ्ख्या तीन लाख ६४ हजार छ । यस्तै पर्यटक र विद्यार्थी प्रवेशाज्ञामा गएका नेपालीको सङ्ख्या पनि उल्लेख्य छ । एनआरएनका तर्फबाट कतारका अमिरलाई हृदयदेखि नै स्वागत गरिने र नेपालको समृद्धिको साझेदार बन्नसमेत आग्रह गरिने जानकारी दिँदै अध्यक्ष भट्टले फिफा विश्वकपको सफलताका लागि नेपाली समुदायले खेलेको भूमिकालाई त्यहाँको सरकारले आत्मसात् गरेको बताउनुभयो । 

“नेपाली नागरिकलाई कतारले रोजगारीको अवसर प्रदान गरेको छ । नेपालीले श्रम र पसिना पनि बगाएका छन् । त्यसका आधारमा कतारले नेपालका केही महत्त्वपूर्ण परियोजनामा लगानी गरिदेओस् भन्ने मेरो पनि अपेक्षा छ”, अध्यक्ष भट्टले भन्नुभयो ।

यस्तै पर्यटन, शिक्षा तथा सूचना प्रविधिका क्षेत्रमा पनि कतारले मौलिक प्रगति गरेको छ । नागरिक उड्डयनका क्षेत्रमा कतार एयरलाइन्सको आफ्नै विशेष पहिचान बनाएको छ । नेपाल र कतारबिच १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गर्नुभएको थियो । अमिरको उपाधि प्राप्त गर्नुभएका अल थानीको नेपाल भ्रमण आफैमा महत्त्वपूर्ण र विशिष्ट भएकाले पनि यसबाट लाभ लिन सकिने अध्यक्ष भट्टको भनाइ छ ।

कतारकातर्फबाट भने द्विपक्षीय सम्बन्ध कायम भएको ४५ वर्षपछि राष्ट्रप्रमुखको नेपाल भ्रमण हुन लागेको हो । नेपाली नागरिकका लागि सहज वैदेशिक रोजगारीको गन्तव्यका रूपमा कतार स्थापित भएका सन्दर्भमा नेपाल र कतारबिच समयानुकूल श्रम सम्झौता भए थप सहज हुने उहाँको भनाइ छ ।

नेपालले वार्षिकरुपमा प्राप्त गर्दै आएको विप्रेषणको ठुलो हिस्सा समेत कतारबाट प्राप्त गर्दै आएको छ । नेपालीको सुरक्षित रोजगारीका लागि नेपाल सरकारको आग्रहमा कतार सरकारले महत्त्वपूर्ण सम्बोधन गरेको जानकारी दिँदै केहीले गरेको कमजोरीलाई आम रूपमा लिन नहुने अध्यक्ष भट्टको भनाइ छ ।

कतारको विकासमा नेपालीले पुर्‍याएको योगदानको सम्मान हुनेगरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झन्झटलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने र अमिरको भ्रमणका क्रममा त्यस विषयले प्राथमिकता पाउने अध्यक्ष भट्टले स्पष्ट पार्नुभयो ।

पछिल्ला दिनमा कतार समन्वय र विवाद समाधान गर्ने केन्द्रका रूपमा स्थापित भएको छ । नेपालले पनि मौलिक प्रकारको शान्ति प्रक्रियाको कामलाई अगाडि बढाएको छ । त्यसका अलावा कतार पछिल्लो समय पश्चिम एसियाको महत्त्वपूर्ण शक्ति राष्ट्रका रूपमा स्थापित भएको छ ।

नेपालबाट सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गर्नुभएको थियो । त्यसअघि सन् २०११ अक्टोबर १० मा तत्कालीन राष्ट्रपति रामवरण यादव, सन् २०१९ अप्रिलमा तत्कालीन सभामुख कृष्णबहादुर महराले कतारको भ्रमण गर्नुभएको थियो ।

एनआरएनएका संस्थापक मध्येका एक आरके शर्माका अनुसार वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१४ मा अनौपचारिकरुपमा कतारको भ्रमण गर्नुभएको थियो । सोही भ्रमणका क्रममा उहाँले कतारकातर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण होस् भन्ने कामना गर्नुभएको शर्माको भनाइ छ ।

भौतिक पूर्वाधारको विकासमा कतार सरकारले गरेको लोभलाग्दो प्रगतिबाट लाभ लिन नेपाल चुक्न नहुने उल्लेख गर्दै अध्यक्ष भट्टले भन्नुभयो, “नेपालीलाई कतार सरकार र कतारी नागरिकले इमान्दार भनेर चिनेका छन् । यही मूल्यका आधारमा एनआरएनएलगायतका संस्थालाई पनि सामाजिक संस्थाका रूपमा मान्यता दिएका छन् ।” नेपालीको उपस्थिति बढ्दै जाँदा नेपाली पाठशालाको माग पनि कतारमा उठेको छ । यस विषयमा पनि अमिरको भ्रमणका क्रममा सम्बोधन भइदिए धेरैले लाभ हासिल गर्ने अध्यक्ष भट्टको कथन छ ।

कतारलगायतका देशका नागरिकलाई नेपाल भ्रमणका लागि अभिप्रेरित गर्न सकिए त्यसबाट ठुलो लाभ हासिल हुने विश्वास लिइएको छ । यस्तै अर्गानिक कृषिउपजको ठुलो बजार कतार हुनसक्छ । हिमाली क्षेत्रको पानी प्रशोधन गरेर कतारका बिक्रीवितरण गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिँदै अध्यक्ष भट्टले नेपालकोतर्फबाट आवश्यक पहल भए त्यसका लागि सहजीकरण गर्न एनआरएनए तयार रहेको बताउनुभयो ।

कतारका रहेका नेपालीकातर्फबाट अमिरको नेपाल भ्रमणको सफल होस् भन्ने कामना गरेको उल्लेख गर्दै अध्यक्ष भट्टले भन्नुभयो, “नेपालीको पसिनाले जसरी कतार समृद्ध बनेको छ । त्यसैगरी नेपालको विकास र समृद्धिका लागि पनि कतारकातर्फबाट महत्त्वपूर्ण सहयोग होओस् भन्ने कामना छ ।”

आफूहरूले कतारको निजी क्षेत्रसँग मिलेर पनि काम गर्नसक्ने जानकारी दिँदै अध्यक्ष भट्ट अमिरको भ्रमणपछि केही महत्त्वपूर्ण कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरबिच शीतल निवासमा भेटवार्ताको कार्यक्रम तय भएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि द्विपक्षीय भेटवार्ता गरी केही महत्त्वपूर्ण सम्झौता एवं समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । अमिरको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने र जनस्तरमा विकास हुने थप वातावरण बनाउने विश्वास लिइएको छ । रासस