• २२ वैशाख २०८१, शनिबार

सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु' वैशाख २६ गते

blog

कमलामाई नगरपालिका–२ कुसुमटारस्थित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणस्थल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

कुसुमटार (सिन्धुली), वैशाख १० गते । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

कुल १३ दशमलव तीन किलो मिटर लम्बाइको सुरुङ अब एक सय १० किलो मिटर खन्न बाँकी रहेको र यही वैशाख २६ गते ‘ब्रेक थ्रु' गर्ने तयारी गरिएको छ । आयोजना प्रमुख मित्र बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विशेष समारोहका बिच सुरुङकाे ‘ब्रेक थ्रु' गर्ने तयारी गरिएको बताउनुभयो ।

सुरुङ खन्न कुनै भौगोलिक जटिलता नआए वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । आयोजनाका अनुसार उक्त सुरुङ २०७९ साल असोज २८ गतेदेखि कुसुमटारबाट खन्न सुरु गरिएको थियो । टनेल बोरिङ मेशिन(टिबिएम)बाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का पाएर काम गरिरहेको छ ।

सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको छ । २२ महिना सुरुङ निर्माणको काम सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको हो । १९ महिनामा नै सुरुङ खन्ने कार्य ९८ प्रतिशतभन्दा बढी भइसकेको र पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माण गरिएको आयोजनाले जनाएको छ ।

सुरुङ खन्ने कार्य लक्ष्यभन्दा तीन महिना अगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो आयोजना प्रमुख बरालले बताउनुभयो । यस अघि टिबिएम मेसिनमाथि पहिरो खस्दा विभिन्न पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अवरुद्ध  भएको आयोजनाले जनाएको छ ।

"२०८४ सालको असोज महिनासम्म सबै प्याकेजको काम सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढिरहेको छ," आयोजना प्रमुख बरालले भन्नुभयो, "पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण भएको छ । दोस्रो चरणको काम अन्तर्गत सुनकोसीमा करिब ३० मिटर अग्लो र  एक सय ५८ मिटर  लामो बाँध(ब्यारेज) निर्माणको काम छ ।"

उक्त ब्यारेज निर्माण गत मङसिर महिनादेखि सुरु भएको छ । पटेल–रमण जेभीले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी ब्यारेज निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपिया लागतमा २०७९ साल माघमा सम्झौता गरेको आयोजनाले जनाएको छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख बरालले बताउनुभयो । 

उहाँका अनुसार सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ। त्यहाँ ६६ दशमलब २९ मिटर हेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिनेछ । 

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नवलपुर सबस्टेशनमा जोडिनेछ । आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना छन् । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु र्‍याउने रहेको आयोजनाले जनाएको छ ।