• २३ वैशाख २०८१, आइतबार

थारू सामुदायिक होमस्टे सञ्चालन

blog

लहान समाचारदाता

लहान, वैशाख १० गते । लहान नगरपालिका–१५, बानोमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । विपन्न थारू समुदायलाई रोजगारी सिर्जना गर्न र थारू संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको लहान नगरपालिकाले जनाएको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले शनिबार घरबासको उद्घाटन गर्दै नगरपालिकाले राजदेवी मन्दिर, सलहेस फूलबारी, मानिक दह, पकडियागढ, हात्तीदह र देवीदहलगायतका क्षेत्रमा पर्यटकलाई लोभ्याउन र उत्तरी क्षेत्रको प्राकृतिक सौन्दर्यसँग अवगत गराउन होमस्टेको अवधारणा ल्याएको बताउनुभयो । 

चारैतिर नदी खोलाले घेरिएको १०८ घरपरिवार रहेको बानो गाउँका थारू समुदायले रोजगारीको माग गर्दै आएपछि होमस्टे सञ्चालन गरिएको छ । यस वर्ष ११ घरमा सञ्चालन गरिएको होमस्टेलाई प्रत्येक वर्ष थप्दै जाने लक्ष्य रहेको छ । होमस्टे सञ्चालन गर्न स्थानीय अच्चमित चौधरी, मुक्ति चौधरी र समुझलाल चौधरीले दुई कट्ठा जमिन उपलब्ध गराएपछि नगरपालिकाले ३५ लाख रकम सामुदायिक भवन निर्माणका लागि दिएको लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चुरेको फेदमा रहेको चारैतिरबाट खोलाले घेरिएको बानो गाउँका थारू समुदाय केही वर्षअघि जङ्गलको दाउरा बजार क्षेत्रमा पु¥याएर गुजारा गर्थे । दाउरा बन्द भएपछि बाख्रापालन गरेर जसोतसो दिनचर्या चलाइरहेका बानोका विपन्न थारू समुदायको होमस्टे सञ्चालन गरेर रोजगारीका साथै थारू समुदायको सांस्कृतिक पक्षलाई टेवा पु¥याउन थालिएको प्रयासमा नगरपालिकाले हिम्मत जुटाइदिएको हो ।”

बानो थारू सामुदायिक होमस्टेका अध्यक्ष लक्ष्मण चौधरीका अनुसार होमस्टे ११ वटा बुँदामा आचारसंहिता बनाएर सञ्चालन भएको छ । यो मधेश प्रदेशकै पहिलो होमस्टेको अभ्यास हो । होमस्टेमा थारू परिकार, परिवारिक वातावरण बनाउन २५ जना महिला रहने गरी समिति निर्माण गरिएको छ । होमस्टे स्थल लहान–१५ मा राजदेवी पर्यटकीय स्थल र हात्तीदह रहेका छन् । लहान बजारबाट १० किलोमिटर उत्तरमा रहेको बानो गाउँसम्म बर्सातमा जान बानो खोलामा पुलको आवश्यक ता छ । पुल निर्माणको कार्य पनि अगाडि बढ्ने लहान नगरपालिकाले आश्वासन दिएको छ ।