• २४ वैशाख २०८१, सोमबार

छ वर्षदेखि नाका बन्द

blog

मुगु समाचारदाता

मुगु, वैशाख १० गते । तिब्बतसँग जोडिएको मुगुको नाक्चेलाङ्ना नाका छ वर्षदेखि बन्द अवस्थामा छ । छ वर्षसम्म पनि नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भइरहेको छ । सो नाका बन्द हुँदा जिल्लाभरिकै व्यापार, व्यवसायमा असर परिरहेको छ । 

मुगुम कार्मारोङ गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष कार्मा लामाका अनुसार यसअघि जिल्लाको उत्तरी भेगमा पर्ने नाक्चेलाङ्ना नाका चीनको स्थानीय सरकारले वर्षको एक पटक खोल्ने गरेको थियो । तिब्बतले हाटबजार सञ्चालन गर्न तथा अरू मालवस्तुको व्यापार व्यवसायका लागि एक सातादेखि दुई सातासम्म नाका खुला गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विगत छ वर्षअघि कोभिडका कारण उक्त नाका चीन सरकारले बन्द गरेको थियो ।  

तिब्बतबाट आयात निर्यात गरिने मालवस्तु खरिदबिक्री गर्न नपाउँदा मुगुम कार्मारोङ गाउँपालिका–१ देखि ९ सम्मका चिताई, दोल्फु मुगु, कार्ती, किम्री, खारी, ताखा, दाउरा, सेरोग, पुअ, रिउस, मह, माग्रीलगायतका बस्तीका बासिन्दाले सास्ती खेप्नु परेको छ । 

तिब्बतबाट आयात गरिने मालवस्तु र निर्यात हुने मालवस्तु यहाँ लिन र खरिदबिक्री गर्न नपाउँदा गएका वर्षदेखि स्थानीयले समस्या झेल्दै आएको मुगुम कार्मारोङ गाउँपालिका–६ का स्थानीय समाजसेवी घन्ग्याव लामाले बताउनुभयो । यीबाहेक जिल्लाका दर्जनौँ बस्तीका बासिन्दाले दैनिक उपभोग्य वस्तुदेखि भोटे बस्तीमा प्रयोग गरिने लत्ताकपडा र अन्य वस्तु चर्को ढुवानी मूल्य तिरेर काठमाडौँलगायत भारतबाट ल्याउनु परेको गुनासो लामाले गर्नुभयो । 

विगतमा तिब्बती सीमानजिकका बासिन्दाले तिब्बत पुगेर स्थानीय दैनिक उपभोग्य चुलीको चाना, सलगमको भुजा, फापरको पिठो, जडीबुटीलगायत अन्य सामग्री तिब्बततर्फ निर्यात गर्ने गरेका थिए । त्यसै गरी तिब्बतबाट घिउ, भोटे चिया, मदिरा, छुर्पी, चामल, लत्ताकपडा, मैदा, ऊन, नुनलगायतका मालवस्तु आयात गर्ने गरेका थिए । 

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले नाका खुलाउन पहल गरिदिन गृह मन्त्रालयमा पटक पटक पत्राचार गरेको बताउनुभयो । गृह मन्त्रालयले उक्त नाका खुलाउन अहिलेसम्म कुनै पनि पहल नगरेको गुनासो पनि गर्नुभयो । 

नाका बन्द हुँदा मुगुम कार्मारोङ गाउँपालिकामा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री, भेडाच्याङ्ग्राको अभाव हुन थालेको छ । मुगुम कार्मारोङ–६ का  स्थानीय पाल्जोर लामाले भन्नुभयो, “पूरै गाउँपालिका वर्षौंदेखि चिनियाँ खाद्यान्नमा निर्भर छ । नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा पनि समस्या भइरहेको छ ।” 

उहाँका अनुसार यातायात सुविधा नहुँदा स्थानीयलाई सदरमुकाम गमगढीबाट खाद्यन्नलगायतका दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या छ । नाका बन्द भएपछि जिल्लाको माथिल्लो मुगुमा रहेको भन्सार  कार्यालय पनि बन्द छ ।