• १८ असार २०८२, बुधबार

राजस्वको लक्ष्य पूरा गर्न चुनौती

blog

राममणि दाहाल 

हेटौँडा, वैशाख ९ गते । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्ष २०८०/८१ मा आफैँले निर्धारण गरेको अनुदान र राजस्वको लक्ष्य पूरा गर्न चुनौती देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि तय गरेको अनुदान र राजस्व प्राप्तिको अवस्था चालु आवको तीन महिना बाँकी हुँदा लक्ष्यको अनुपातमा कम प्राप्त भएको छ । गत चैत मसान्तसम्ममा प्रदेश सरकारले चालु आवमा अनुदान र राजस्व प्राप्तिका लागि गरेको अनुमानको आधाभन्दा पनि कम सङ्कलन भएकाले अनुदान र राजस्वको लक्ष्य पूरा गर्न चुनौती देखिएको हो ।

चालु आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ राजस्व, अनुदान र अन्य स्रोतबाट आम्दानी हुने अनुमान गरेको प्रदेश सरकारलाई चालु आवको तीन महिना मात्र बाँकी हुँदा ४१.४३ प्रतिशत अर्थात् २५ अर्ब ९८ करोड ३१ लाख दुई हजार ४१६ रुपियाँ मात्र सङ्कलन भएको छ । 

राजस्व, अनुदान र अन्य स्रोतबाट भएको उक्त आम्दानी चालु आवको लक्ष्यको आधाभन्दा पनि कम भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको चालु आवको चैत मसान्तसम्मको वित्तीय प्रगति विवरणमा उल्लेख छ ।

प्रदेश सरकारले गत फागुन मसान्तसम्ममा लक्ष्यको ३८.१० प्रतिशत अर्थात् २३ अर्ब ८९ करोड ३३ लाख ७५ हजार ७२० रुपियाँ आम्दानी गरेको थियो । मन्त्रालयका सूचना अधिकारी डा. अर्जुन अर्यालका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान अनुमानभन्दा कम प्राप्त भएको र कतिपय राजस्व सङ्कलनमा समेत गिरावट आएकाले लक्ष्य अनुसार आय नभएको जानकारी दिनुभयो । 

सङ्घीय सरकारबाट समानीकरण, विशेष, ससर्त र समपूरक गरी चालु आवमा १७ अर्ब ८१ करोड २३ लाख रुपियाँ अनुदान प्राप्त हुने अनुमान गरिएकामा हालसम्म ४६.०९ प्रतिशत अर्थात् आठ अर्ब २० करोड ८८ लाख ५३ हजार ९८७ रुपियाँ निकासा भइआएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान गत फागुन महिनापछि चैतमा प्रदेशमा निकासा भई आएको छैन ।

प्रदेश सरकारको आफ्नै स्रोतबाट सङ्कलन हुने राजस्वतर्फ चालु आवमा तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार सङ्कलनको अनुमान गरेकामा गत फागुनको अनुपातमा चैतसम्ममा वृद्धि भएर ७१.२३ प्रतिशत अर्थात् दुई अर्ब ६७ करोड ४७ लाख ४१ हजार ८८१ रुपियाँ सङ्कलन भएको छ । गत फागुनसम्ममा ६३.२१ प्रतिशत अर्थात् दुई अर्ब ३७ करोड ३५ लाख २६ हजार ३२५ रुपियाँ सङ्कलन भएको थियो ।

यस्तै गत आवको नगद मौज्दात, बेरुजु तथा अनुदान फिर्ताबाट गरी १४ अर्ब ४५ करोड ४७ लाख तीन हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएकामा चालु आवको नौ महिनाको अवधिमा ४.८८ प्रतिशत अर्थात् ७० करोड ५५ लाख ५४ हजार ३४७ रुपियाँ मात्र प्राप्त भएको छ ।

प्रदेश सरकारलाई घरजग्गा रजिस्ट्रेसन र दहत्तर बहत्तर अर्थात् ढुङ्गा, गिट्टी, बालुवालगायतको बिव्रmीबाट हुने आय अनुमानभन्दा निकै कम प्राप्त भएकाले अनुमानित आय प्राप्तिमा कम भएको हो । 

घरजग्गा रजिस्ट्रेसन दस्तुर, मनोरञ्जन कर, मूल्य अभिवृद्धि कर, खानी तथा खनिजसम्बन्धी रोयल्टी, दहत्तर बहत्तरलगायत बाँडफाँटबाट प्राप्त हुने राजस्व चालु आवमा प्रदेश सरकारले २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार रुपियाँ अनुमान गरेकामा चैत मसान्तसम्ममा ५३.९४ प्रतिशत अर्थात १४ अर्ब ३९ करोड ३९ लाख ५२ हजार २०१ रुपियाँ मात्र सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

उता मन्त्रालयको वित्तीय प्रगति विवरण अनुसार बाँडफाँटबाट प्राप्त हुने राजस्वतर्फ वन रोयल्टी, बिमा दाबी प्राप्ति, पर्वतारोहणबापतको रोयल्टी, बेरुजु र प्रशासनिक दण्ड, जरिबाना र जफतबाट हुने आम्दानी यो अवधिमा लक्ष्यभन्दा बढी सङ्कलन भएको छ । 

मन्त्रालयको वित्तीय प्रगति विवरण अनुसार प्रदेश सरकारलाई समपूरक अनुदान पुँजीगत र अन्य अनुदान चालुतर्फको अनुदान प्राप्तिको अवस्था गत चैत मसान्तसम्ममा शून्य रहेको छ ।

प्रदेश सरकारले उक्त दुवै शीर्षकमा गरी सङ्घीय सरकारबाट तीन अर्ब ३० करोड रुपियाँ प्राप्त गर्ने अनुमानसहित चालु आवको बजेट गत वर्षको असारमा बनाएको थियो ।