• ६ जेठ २०८१, आइतबार

खप्तड राष्ट्रिय निकुञ्जमा सरसफाइ

blog

डोटी समाचारदाता

डोटी, वैशाख ९ गते  । २९ औँ वन्यजन्तु सप्ताहको अवसरमा पारेर खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका विभिन्न पदमार्गको सरसफाइ गरिएको छ । वैशाख १ गतेदेखि सञ्चालन भएको पदमार्ग सरसफाइ अभियानका क्रममा झिग्रानास्थित निकुञ्ज कार्यालयमा समापन गरिएको छ । नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीयलगायतको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको बताएको छ । पछिल्लो समयमा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

खप्तड घुम्न आउने आउने पर्यटकले फाल्ने प्लास्टिकजन्य फोहरका कारण वन्यजन्तुमा संरक्षणमा चुनौती थपिएकाले सरसफाइ अभियान सञ्चालन गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउनुभयो । सात दिनसम्म निकुञ्ज क्षेत्रभित्रका विभिन्न पद मार्गको सरसफाइ गरिएको हो । वन्यजन्तु सप्ताहका अवसरमा आयोजना गरिएको पद मार्ग सरसफाइ अभियान समापन कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सेना, सञ्चारकर्मीलगायतका सरोकारवाला निकायको सहभागिता थियो । 

प्लास्टिकजन्य सामग्रीका कारण वन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै पछिल्लो समय खप्तडलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियान थालिएको छ । प्रत्येक वर्ष वैशाखमा एक हप्ता सो अभियान सञ्चालन हुँदै आएको छ ।