• ६ जेठ २०८१, आइतबार

कृषि ज्ञान केन्द्रको नियमित सेवा

blog

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैसी । तस्बिर : रामबहादुर विक

मार्तडी समाचारदाता

मार्तडी, वैशाख ९ गते । कृषि ज्ञान केन्द्र बाजुराको कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुने भएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीलाई नियमित सेवा दिन दैनिक ११ घण्टा कार्यालय खुला राखिने जनाइएको छ । ‘सरकारी काम कैले जाला घाम’ भन्ने मान्यतालाई तोड्दै कृषि ज्ञान केन्द्र ११ घण्टा समय खुला राखिएको सो कार्यालयका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताउनुभयो । 

उहाँका अनुसार २०८१ वैशाखदेखि कार्यालयमा सीमित जनशक्ति र कर्मचारी अभावबिच पनि जरुरी काम र टाढाबाट सेवाग्राही आउनुभएका कारण नियमित सेवामा समस्या हुन नदिन सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गरिने बताइएको छ । सार्वजनिक बिदाबाहेकका अन्य दिनमा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यालयबाट प्रदान गरिने सेवालाई नियमित गरिएको छ । 

विशेष गरेर कृषि भेटघाट तथा समस्यामा आधारित प्राविधिक सेवा र अनुदान, भुक्तानीलगायत काम नियमित हुने छन् । निमित्त कार्यालय प्रमुख जैसीका अनुसार यस कार्यालय सहयोगी र सवारीचालकबाहेक प्रशासन र प्राविधिक कर्मचारी गरेर १० जना कर्मचारीको दरबन्दी छ । हाल नौ जना कर्मचारीको दरबन्दी रिक्त छ भने एक जना प्राविधिक कर्मचारी छन् । 

आफैँ कार्यालय प्रमुख आफैँ प्राविधिक भएर काम गर्नु परेको छ, कसरी कार्यसम्पादन गर्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । गत असोजमा कार्यलय प्रमुख हरिप्रसाद पनेरुको सरुवा भएपछि जैसी नै निमित्तको जिम्मेवारीमा हुनुहुन्छ ।