• २३ वैशाख २०८१, आइतबार

सत्तरी करोडभन्दा बढीको जडीबुटी निकासी

blog

सिराज खान 

नेपालगन्ज, वैशाख ९ गते । जडीबुटी निकासीको प्रमुख नाका मानिएको नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । 

विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि नौ महिनामा ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको अनेकौँ कठिनाइका बाबजुद पनि व्यवसायीले नौ महिनामा ७० करोडको जडीबुटी निकासी गर्न सफल हुनु निकै सकारात्मक भएको बताउनुभयो । 

उहाँले नेपाली जडीबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षबाट पुनः उकालो लाग्ने सङ्केतहरू देखिन थालेको बताउनुभयो । 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार ८३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको हो । गत आव २०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख १० हजार मूल्यको जडीबुटी निकासी भएको थियो ।  

कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै भारतलगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । 

नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधी, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलकमा पनि निर्यात भइरहेको सङ्घले जनाएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीहरूले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडीबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नु परेकाले समस्या हुँदै आएको जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताउनुभयो ।