• १२ साउन २०८१, शनिबार

गुल्मीमा आगलागीले करोडौंको क्षति

blog

आगलागीबाट क्षति भएको क्षेत्र ।

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ८ गते। गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको छ। शुक्रबारदेखि यस जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको बताइएको छ।

शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका–३ र ४ को बीचमा पर्ने जङ्गलमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको वीरबास सवस्टेशनको स्टोर जलेर दुई करोडभन्दा बढीको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो। 

शनिबार हावाहुरीसँगै यस जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर जलेर नष्ट भएका छन्। केही मानिस घाइते भएका छन्। पशुचौपाया मरेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–२ को रानीवन सामुदायिक वनमा लागेको आगो सिदुङ्खा र हाँडिखोला समेतको गरी यो समाचार तयार पार्ने बेलासम्म १५ वटा घर गोठ गरेर सोही सङ्ख्यामा शौचालय जलेर नष्ट भएकाे छ। 

मानवीय क्षति नभए पनि थुप्रै पशु चौपाया जलेर नष्ट भएका छन्। लु ४ त ६५३५ नम्बरको ट्याक्टर पूर्णरुपमा जलेको छ। त्यसका चालक उजुङ्घ निवासी हिमाल राना घाइते हुनुभएको छ। 

जेसिभी चालक मुसिकोट नगरपालिका–७ पल्टारका प्रेम राना गम्भीर घाइते हुनुभएको छ। इस्मा गाउँपालिका–४ हुल मुड्कीनामा चार गोठ जलेर नष्ट भएका छन्। एउटा भैँसी, एउटा गाई र १० वटा बाख्रा जलेका छन्। यहाँ शनिबार अपरान्हसम्म सात वटा घर जलेर नष्ट भएको र थप करिब १० वटा घर जोखिममा रहेको त्यहाँका वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिनुभयो।

धुर्कोट गाउँपालिका-६ धुर जंगलमा भीषण आगलागी भएको छ। त्यस्तै, मुसिकोट नगरपालिकाको-९ अर्लाङ्कोटको जङ्गलमा समेत आगलागी भएको छ। वडाध्यक्ष भोमा गुरुङका अनुसार अपरान्हसम्म तीन वटा घर र एउटा गोठ जलेर नष्ट भएका छन्। तीन वटा भैंसी मरेका छन्। आगो नियन्त्रणभन्दा बाहिर रहेको वडाध्यक्ष गुरुङको भनाइ छ।

रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवा गाउँको चारैतिर आगलागी हुँदा पाँच वटा घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ। सात वटा पशुचौपाया मरेका छन् भने झण्डै दुई दर्जन घर गोठ उच्च जोखिममा परेको स्थानीयवासी विकास ज्ञवालीले बताउनुभयो। 

प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको छ। जिल्लाका विभिन्न स्थानमा आगलागी भएको हुँदा नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गरिएको भन्दै आम नागरिक समेतलाई होसियारपूर्वक आगलागी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आह्वान गर्नुभएको छ।