• २१ वैशाख २०८१, शुक्रबार

गाडेको भेटियो अनुदानका खाद्य सामग्री

blog

माटोमा गाडेको अवस्थामा भेटिएको तरकारीको बीउ विजन ।

हरिप्रसाद कोइराला

उर्लाबारी, वैशाख ८ गते । मोरङको रतुवामाई नगरपालिकाले कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ बिजन रतुवाखोला किनारमा गाडेको भेटिएको छ । 

शुक्रबार स्थानीयले पाएको सूचनाका आधारमा सञ्चारकर्मीलाई लिएर केही सामाजिक अगुवाहरू रतुवामाई–७ को रतुवाखोला किनारमा रहेको डम्पिङ साइडमा उत्खनन् गरेका थिए । डम्पिङ साइडको छेउमा झार नउम्रिएको बालुवा भेटिएपछि स्थानीयले सोही ठाउँमा उत्खनन गरेका थिए । 

खनेर हेर्दा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले अनुदानमा दिएको गड्यौला मल (भर्मी कम्पोष्ट) भेटिएको थियो । २५ केजीको सात बोरा मल भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय राजलवट, लेखा अधिकृत रिता सिग्देल, प्रशासन शाखाका अधिकृत नरहरि निरौला र नगर प्रमुख नागेश्वरप्रसाद सिंहसहितको टोली घटनास्थलमा पुगेपछि जेसीवी लगाएर थप उत्खनन गरिएको थियो । उत्खनन गर्दा २ बोरा बीउ बिजन, थप चार बोरा मल, नून, दुई बोरा, कुहिएको चामल, तेलका पाउच, दाल एक बोरा र सावुन भेटिएको थियो । 


किसानलाई अनुदानमा दिन ल्याएको मल र तरकारीको बीउ बिजन नष्ट भएको देखेपछि स्थानीयले आक्रोश पोखेका छन् । स्थानीय सुनील सापकोटाले भन्नुभयो, “कोभिडको बेला आएको सामान किन वितरण भएन । जिल्लाकै सबैभन्दा बढी ब्यावसायिक तरकारी किसान रहेको पालिकामा तरकारीको बीउ ल्याएर किसानलाई नदिइ खाल्डो खनेर गाड्नु किसानको अपमान गर्नु हो, सापकोटाले भन्नुभयो । 

देवीप्रसाद राजवंशीले भन्नुभयो, ‘मरेको पशुपंक्षी गाड्न जेसीवी आयो होला भनेर वास्तै भएन । खोला किनारमा आउने काम पर्दैन । जब चामल छरिएको देखें त्यसपछि अन्न गाडेको अनुमान लगायौं । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय राजलवटले अघिल्लो कार्यकालमा आएको सामान वितरण नहुँदै म्याद गुज्रेकोले नष्ट गरिएको बताउनुभयो । यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । नगरपालिकाका कृषि शाखा प्रमुख नरहरि निरौलाले भन्नुभयो, ‘गोदाम खाली गर्ने क्रममा म्याद गुज्रेको केही सामान भेटियो । त्यो सामान वितरण गर्नभन्दा नष्ट गर्न उचित ठानेर गाडिएको हो ।’  

जिन्सी शाखा प्रमुख महेन्द्र ठाकुरले कति सामग्री नष्ट गरिएको भन्ने जानकारी नरहेको बताउनुभयो । ठाकुरका अनुसार राहत सङ्कलन र वितरणका लागि छुट्टै सर्वदलीय समिति बनाइएको थियो । तर, सामान नष्ट गर्न प्रहरी, सर्वदलीय प्रतिनिधि, वडाध्यक्ष र पत्रकारलाई रोहवरमा राखिएको छैन् । 

प्रशासकीय अधिकृत राजलवटले कति सामग्री नष्ट भयो भन्ने तथ्याङ्क नगरमा नरहेको बताउनुभयो । कृषि शाखा प्रमुख निरौलाले माघ १७ गतेभन्दा अघि ती सामानहरू गाडिएको बताउनुभयो । तर, स्थानीयले भने २१–२२ दिन अघि गाडिएको दाबी गर्नुभएको छ ।