• २१ वैशाख २०८१, शुक्रबार

कट्नु खोलाको पुल छ वर्ष देखि अलपत्र

blog

अलपत्र पुल । तस्बिर: हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख ८ गते । मोरङको रतुवामाई नगरपालिका को बडा नम्बर ५ र ६ को बिचमा रहेको  कट्नु खोलामा निर्माणाधीन पुलको निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले विगत ६ वर्ष देखि सास्ती ब्योहोर्दै आएका छन् । 

२०७५ सालमा पक्की पुल निमार्ण गर्ने ठेक्का स्काई वाइ माँ जानकी कन्स्ट्रक्सन जनकपुरले प्राप्त गरेको थियो । ३ करोड ३७ लाख रुपियाँमा ठेक्का लागेको पुल २०७७ को असार मसान्तमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो । २५ मिटर लम्बाई र १५ फिट चौडाइको उक्त पुल ५ वर्ष बितिसक्दा पनि अझै बन्न सकेको छैन । वडा नं. ५ को परेवा खोपीबाट वडा नं. ६ को जोरपानी जोड्ने कट्नु खोलामा पहिले पनि पुल थियो । हुँदा छँदाको पुलबाट ओहोरदोहोर भइरहेको थियो । पुल कमजोर भयो भनेर नयाँ पुल बनाउने भएपछि स्थानीयमा खुसी छाएको थियो । तर, ५ वर्ष बितिसक्दा पनि पनि पुल नबने पछि स्थानीयलाई सास्ती भएको छ । पुरानो पुलले काम गर्दैन । सडकको दुवै तर्फ भत्काएपछि पुरानो पुल काम नदिने भयो ,नयाँ पुल ठेकदारले बनाएनन् । वडा नं.६ का वडाध्यक्ष तुलाराम लुइँटेलले भन्नुभयो –प्रदेश सांसद,सङ्घीय सांसद सबैलाई हार गुहार गर्यौं । भन्न र गर्न बाँकी केही छैन । हामीलाई त के सङ्घीय सांसदको कुरा समेत निर्माण कम्पनीले नसुन्दा रहेछन् । 

वडा नम्बर ५ का वडाध्यक्ष सोमबहादुर कार्कीका अनुसार जानकी कन्स्ट्रक्सनले पेस्की लिएर केही काम गरेपछि जोइन्ड कम्पनीलाई काम गर्न दिएको थियो । जोइन्र्ड कम्पनीले काम सुरु गरेर पैसा माग्दा पेस्की बापत  साझेदार कम्पनीले पैसा लगिसकेको देखिएपछि हाल काम गर्ने जिम्मा लिएको कम्पनीले पुरानो कम्पनीलाई मुद्दा दायर गरेको छ । अदालतले मुद्दा फैसला गरेको छैन । अदालतमा भएको केशलाई पालिकाले निर्णय गरेर केही गर्न सक्दैन ।कार्कीले मङ्सिर महिनासम्म अदालतको प्रक्रिया कुने त्यसपछि नगरले आफै भए पनि निर्माण प्रक्रिया सुरु गर्ने बताउनुभयो ।  

खोलामा पुल नबन्दा  अधिकारी चोक देखि पूर्व सौँठा बजार सम्मको बाटोमा आवतजावत गर्न  कठिनाइ भएको छ । गोविन्दपुर बजारबाट नगरपालिकाको कार्यालय जोड्न यही सडक हुँदै आवतजावत गर्नुपर्छ । नगरको ऐतिहासिक महत्वको सडक भएकोले नयाँ पुल बनाउन प्रस्ताव गरिएको रहेछ । तर, निर्माण कम्पनी बिच नै मुद्दा मामिला भएपछि  काम अघि बढ्न सकेको छैन – रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो । 

स्थानीय निजी विद्यालयले झनै ठुलो झन्झट ब्योहोर्नु परिरहेको स्थानीय विद्यालयका प्रिन्सिपल विश्वनाथ रायले बताउनुभयो । उक्त ठाउँमा पुरानो पुल हुँदाहुँदै नयाँ पुल निर्माण गर्ने भनेपछि पुरानो ले पनि काम दिन छोड्यो नयाँ बनेन । विद्यालयका बसहरू वारिपारि गर्नलाई ५ किमी घुम्नुपर्ने बाध्यता छ , रायले भन्नुभयो ।