• २१ वैशाख २०८१, शुक्रबार

द्रुतमार्ग समयमै सक्न निर्देशन

blog

काठमाडौँ, वैशाख ८ गते । सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणका क्रममा देखिएका समस्या समाधान गरी निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको छ । यसमा आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ ।

समितिका सभापति रामहरि खतिवडाले सिंहदरबारस्थित समितिको कार्यकक्षमा शुक्रबार बसेको बैठकले गरेको निर्णयबारे जानकारी दिँदै द्रुतमार्ग निर्माण निर्धारित समयमा सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई आवश्यक सहयोग र समन्वय गर्न निर्देशन दिने निर्णय गरिएको बताउनुभयो । द्रुतमार्ग निर्माणको म्याद २०८३ चैतसम्म थप गरिएको छ ।

बैठकमा निर्माणाधीन द्रुतमार्ग र अन्य सडक आयोजनाबारे जानकारी लिन रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिवलाई बोलाइएको थियो ।  सभापति खतिवडाका अनुसार द्रुतमार्ग निर्माणको क्रममा नेपाली सेनाले गरेको प्रयासप्रति सहयोग पुर्‍याउन र आवश्यक सहजीकरण गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । उहाँले दार्चुला–टिङ्कर सडकसहित सेनाले बनाउँदै गरेका सडकलाई पर्याप्त बजेट उपलब्ध गराउन, उक्त क्षेत्रमा काम गर्ने सैनिकलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको बताउनुभयो ।

उहाँले सबै सडक आयोजना समयमै सम्पन्न गर्न र पहिलो प्राथमिकता प्राप्त तथा राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा आवश्यक निर्णय र सहजीकरण गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताउनुभयो । बैठकले लाभकर छुट सम्बन्धमा सरकारले विगतमा गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा अर्थ मन्त्रालयसँग समन्वय र सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय गरेको छ । द्रुतमार्गसहित सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको उपयुक्त समयमा स्थलगत अध्ययन तथा अवलोकन गर्ने निर्णय समितिले गरेको छ ।

निर्माणाधीन सुरुङ छिट्टै छिचोलिने

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले द्रुतमार्गको निर्माण तोकिएको समयमा नै सम्पन्न हुने बताउनुभयो । उहाँले अबको दुई महिनाभित्र तीन वटा सुरुङ छिचोलिने बताउनुभयो । 

प्रधान सेनापति प्रभुराम शर्माले द्रुतमार्ग निर्धारित समयमा सकिने बताउनुभयो । उहाँले सिँगारिएको अवस्थामा नभए पनि खोकनाबाट गाडी चढाएर बाराको पूर्वपश्चिम राजमार्गसम्म पुर्‍याइने प्रस्ट पार्नुभयो । उहाँले सुरुङ र ‘हाइब्रिज’ निर्माण प्राथमिकतासाथ निर्माण भइरहेको बताउँदै बाटो बनाउने काम रातमा गरिने बताउनुभयो । उहाँले खोकनाको समस्या समाधानका लागि विभिन्न छ वटा विकल्पमा छलफल भइरहेको बताउनुभयो। रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले खोकना क्षेत्रको ६.५ किलोमिटरबाहेक आयोजनाको बाँकी सबै क्षेत्रको निर्माणका लागि ठेक्का लागिसकेको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले द्रुतमार्ग र सेनाले निर्माण गरिरहेका सडकको कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

छ वर्षमा एक तिहाइ काम

नेपाली सेनाको व्यवस्थापनमा काम सुरु भएको छ वर्षको अवधिमा द्रुतमार्गको एक तिहाइ सकिएको छ । सेनाका अनुसार अहिले आयोजनाको भौतिक प्रगति ३३.२० प्रतिशत छ । 

द्रुतमार्गका तीन वटा सुरुङ खन्ने काम ७३ प्रतिशत सम्पन्न भइसकेको छ । महादेवटार सुरुङ, धेद्रे सुरुङ र लेनडाँडा सुरुङ यसै वर्ष छिचोलिने छ । छ हजार ४१५ मिटर सुरुङमध्ये चार हजार ६५३ मिटर खनिसकिएकोे छ ।