• २० वैशाख २०८१, बिहिबार

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पार्टी सुदृढीकरणबारे विस्तृत कार्ययोजना प्रस्तुत हुने

blog

पार्टी केन्द्रीय कार्यालयमा नेकपा एमाले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख ७ गते । नेकपा (एमाले) को वैशाख ८ र ९ गते आयोजना हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत हुँदैछ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शनिबारबाट सुरु हुने बैठकमा प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि सहभागीहरूले पूर्ण लोकतान्त्रिक विधिबाट आ–आफ्नो राय, सुझाव र टिप्पणी राख्ने बताउनुभयो ।

उहाँका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका तीन सय ८१ जना आयोजक गरी दुई हजार चार ५४ जना सहभागी हुने छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने उहाँको भनाइ छ 

यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुने छन् ।