• १७ जेठ २०८१, बिहिबार

‘अटिजम हुने बच्चामा सञ्चारको समस्या’

blog

काठमाडौँ, वैशाख ७ गते। पछिल्लो समय अटिजम भएका बच्चा जन्मिने दर बढ्दो छ। विश्वमा ३६ जना जन्मिएका बच्चामध्ये एक जना अटिष्टिक बच्चा जन्मिने चिकित्सकको भनाइ छ। नेपालमा यकिन तथ्याङ्क नभए पनि राष्ट्रिय जनगणनाले नेपालमा चार हजार आठ सय ४६ अटिजम भएका बच्चा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ।  

अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेकु अमात्यले यो सङ्ख्या निकै कम भएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘संसारभर नै अटिजम भएका बच्चा जन्मिने दर बढ्दो छ। नेपालमा ४८ सय अटिजम भएका बच्चा रहेको देखाएको छ।’ उहाँका अनुसार अटिजमबारेमा जनचेतना नहुँदा जनगणनामा कम सङ्ख्या दर्ता भएको हुन सक्ने बताउनुहुन्छ। 

के हो अटिजम ?

डा. अमात्यका अनुसार अटिजम जन्मजात बच्चाको मस्तिष्कमा आउने अवस्था हो। अटिजम भएका बच्चाको उमेरअनुसार सञ्चार र व्यवहारको विकास हुँदैन। १८ महिनादेखि दुई वर्षको उमेरमा व्यवहारिक र सञ्चारको विकास भए नभएको प्रष्ट देख्न सकिने डा. अमात्यको भनाइ छ। 

उहाँका अनुसार अटिजमको कारण अहिलेसम्म पत्ता लागेको छैन। उहाँ भन्नुहुन्छ, ‘जेनेटिक म्युटेसनले गर्दा हुने गर्दछ। कुन जिनको खराबीले भएको भन्ने अझै पत्ता लागेको छैन।’ 

बच्चा जन्मिसकेपछि सञ्चार र व्यवहारको विकास सानो उमेरबाट नै हुने गर्छ। उहाँ भन्नुहुन्छ, “हामीले शारीरिक र मानसिक विकासजस्तै भाषा र सञ्चारको विकास, बौद्धिक विकास, आफ्नो दैनिक जीवनमा गर्नुपर्ने काम गर्ने क्षमताको पनि विकास हुने गर्छ। तर अटिजम भएका बच्चामा यस्तो विकास हुँदैन।”

सामान्य बालबालिकाको विकासमा ६–८ महिनाको बच्चाले पनि आमाको स्वर चिनेर फर्किएर हेर्ने, हाँस्ने, राम्रो लागेको औँलाले देखाउने गर्छ। त्यसैगरी,  एक वर्षको बच्चाले एक–दुईवटा शब्द बोल्ने, पानी, दुधु, माम, बिस्तारै दुई–तीनवटा शब्द बोल्ने र बिस्तारै वाक्यांश बोल्ने गर्छ। 

तर, अटिजम भएका बच्चाले सानैबाट कोही बोलेको वास्ता नगर्ने, अनुहारमा नहेर्ने, टोलाएजस्तो देख्ने, मानिसमाभन्दा सामानमा आकर्षित हुने, एक वर्ष अढाई वर्ष पुगेपछि धेरैले शब्द निकाल्दैनन्। तर निकाली हालेमा दोहोरिने शब्द निकाल्ने, एकै किसिमको आवाज निकाल्ने, आफ्नो उमेरका बच्चासँग खेल्न मन नगर्ने, अरू बच्चासँग घुलमिल हुन नसक्ने हुन्छन्।  

बोलेर वा नबोलेर गर्ने सञ्चार बुझ्न र प्रयोग गर्न गाह्रो हुने, व्यवहारको समस्या हुने समस्यामा कसैले बोलाएको वास्ता नगर्ने, नहेर्ने, नखेल्ने, नियमानुसारको काम गर्न नसक्नु, एउटै कुरा दोहोर्‍याएर गर्ने डा. अमात्यको भनाइ छ। 

अटिजम रोग नभएकाले यसको उपचार हुँदैन। बच्चामा समस्याको पहिचान हुनासाथ थेरापी आवश्यक पर्ने उहाँको भनाइ छ। “पहिचान हुनासाथ थेरापी गराएमा समस्या सुधार हुँदै जान्छ’ उहाँ भन्नुहुन्छ, ‘बालबालिका अनुसार थेरापी पनि भिन्न–भिन्न हुने गर्छ।’ 

थेरापी प्रभावकारी बनाउन अभिभावकले सिकेर घरमा नै सिकाउनु पर्छ। उहाँका अनुसार सामान्यदेखि जटिल समस्या भएकालाई थेरापी दिन सकेमा जटिलता कम हुँदै जान्छ। 

उहाँ भन्नुहुन्छ, ‘माइल्ड बच्चाको हेरचाह राम्रोसँग गरिएन भने गम्भीर हुने धेरै समय लाग्दैन। गम्भीर छ, भने पनि राम्ररी समय लिएर सिकायो भने कति कुरा राम्रो हुँदैजान्छ।’ 

सञ्चार व्यवहारको समस्या अटिजमको विषयमा केन्द्रित भई अटिजम केयर नेपालकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।