• २२ असार २०८२, आइतबार

इलाम –२ मा मतदाता शिक्षा कार्यक्रम

blog

फाकफोकथुम गाउँपालिकामा मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख ६ गते । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम –२ मा मतदाता शिक्षा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन हुने ६ पालिकामा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ । सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइएको छ । 

वैशाख ११ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि इलाम– २ मा ८६ जना स्वास्थ्य स्वयंसेविका खटेका छन् । प्रत्येक निर्वाचन सम्पर्क व्यक्तिले आफ्नो पालिकामा खटिने स्वयंसेविकालाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरी मतदाता शिक्षामा खटाएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । 

यस पटक इलाम नगरपालिकामा २२ जना, देउमा नगरपालिकामा १९ जना, माई नगरपालिकामा ६ जना, फाकफोकथुम गाउँपालिकामा १४ जना, चुलाचुली गाउँपालिकामा १३ जना र माङ्सेबुङ गाउँपालिकामा १२ जना स्वयंसेविका मतदाता शिक्षाका लागि खटेको बताइएको छ । 

‘एक्लो र टाढा घर छ भने घरैमा पुगेर, सम्भव भएसम्म टोल–टोलमा भेला गराएर मतदाता शिक्षा दिनु भनिएको छ’ फाकफोकथुम गाउँपालिका निर्वाचन सम्पर्क व्यक्ति माधवप्रसाद दाहालले भन्नुभयो, ‘हाट बजार, विवाह, व्रतबन्ध, पुराणजस्ता धार्मिक काममा पनि धेरै मानिस भेला भएको स्थानमा मतदाता शिक्षा दिनु भनिएको छ ।’ 

 कोही भोट हाल्दिन भन्छ भने त्यो नागरिकलाई प्रत्येक भोटको महत्व बुझाउनु भनेर पठाइएको दाहालले बताउनुभयो । यस पटक पालिकामा निर्वाचन सम्पर्क व्यक्ति र मतदाता शिक्षा दिने स्वयंसेवीसँग पनि सोझो सम्पर्क भएकाले मतदाता शिक्षा प्रभावकारी हुने अपेक्षा गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताउनुभयो । 

यस पटक इलाम –२ का छ पालिकाका ४२ वटा वडामा १५ गते मतदान हुनेछ । यो क्षेत्रमा ५६ हजार ८६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार ८८९ जना मतदाता छन् ।