• ११ मंसिर २०८१, मङ्गलबार

पश्चिम एसियामा चुलियो तनाव

blog

पश्चिम एसियामा यतिबेला तनाव चुलिएको छ । त्यहाँको जनजीवन र वातावरण अशान्त र आतङ्कित छ । शक्तिशाली राष्ट्र इजरायलमाथि अर्को शक्तिशाली राष्ट्र इरानले प्रत्यक्ष रूपमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पछिल्लो तनाव चुलिएको हो । इजरायलले आफ्ना सैन्य कमान्डर मारिदिएपछि आक्रोशित इरानले बदला लिने घोषणा गरे पनि इजरायलमाथि यति ठुलो आक्रमण गर्ला भनी सोचिएको थिएन । इजरायलमाथि प्रहार गरिएका तीन सयभन्दा बढी क्रुज तथा ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनमध्ये अधिकांशलाई इजरायली प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएकाले ठुलो मानवीय र भौतिक क्षति हुन पाएन । एक जना सात वर्षीय बालिका गम्भीर घाइते र केही सैनिक संरचनामा सामान्य क्षति भयो । इजरायली प्रतिरक्षा प्रणालीको यो सफलतामा अमेरिका, बेलायत, फ्रान्स र जोर्डनले साथ दिएका थिए ।

एकातिर हमाससँगको युद्ध जारी रहेको र अर्कोतिर इरानले आक्रमण गरेपछि इजरायलको जनजीवन थप आतङ्कित र त्रसित छ । यतिखेर इजरायलमा रहेका स्वदेशी तथा विदेशी नागरिकको दिनचर्या नै अस्तव्यस्त बनेको छ । चारैतिरबाट आक्रमण हुने खतरा टरेको छैन । हमाससँगको युद्धमा होमिँदा मुलुकभित्रको गतिविधि सहज र स्वाभाविक रूपमा नचलेकाले अर्थतन्त्र नै प्रभावित हुने अवस्थामा पुगेको इजरायलमाथि इरानको यो आक्रमणले परिस्थितिलाई अरू जटिल बनाएको छ । 

गत अक्टोबर ७ मा इजरायली सुरक्षा व्यवस्थालाई चुनौती दिँदै प्यालेस्टिनी हमास विद्रोही समूहका लडाकुले इजरायलमा अन्धाधुन्ध आक्रमण गरी बाह्र सय जनाको हत्या गर्नुका साथै २५० जनालाई बन्धक बनाए । इतिहासमै नभएको यति ठुलो आक्रमणबाट रुष्ट बनेको इजरायल सरकारले गाजा क्षेत्रमा युद्धको घोषणा गरी हमासविरुद्ध कारबाही सुरु गर्‍यो । हमासलाई समाप्त नपारेसम्म युद्ध नरोक्ने भन्दै इजरायली सेनाले जल, स्थल र हवाई आक्रमणलाई तीव्र पारेको हो । जारी युद्धमा हमास लडाकुतर्फ ठुलो क्षति नभएको तर गाजा क्षेत्र ध्वस्त हुनुका साथै ठुलो सङ्ख्यामा महिला, बालबालिका र सर्वसाधारण मारिएसँगै इजरायलको चर्को आलोचना भएको छ । 

अहिलेसम्म युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । ८० हजारभन्दा बढी घाइते भएका छन् । २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । गाजा क्षेत्रमा चरम खाद्यान्न र मानवीय सङ्कट देखिएको छ । अमेरिकालगायत विश्व समुदायले युद्ध रोक्न इजरायल सरकार र हमास नेतृत्वलाई पटक पटक आग्रह गरे पनि दुवै पक्ष पछि हटेका छैनन् । आफ्ना लडाकुतर्फ ठुलो क्षति नभएकाले हमास नेतृत्व युद्धविराम र आत्मसमर्पण गर्न अझैसम्म तयार भएको छैन । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमास लडाकु समाप्त नपारेसम्म जसले जे भने पनि युद्ध नरोक्ने अडान लिनुभएको छ । त्यहाँ युद्धविराम गराउन अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास भए पनि सफल हुन सकेको छैन ।

विगत छ महिनादेखि आफू अधीनस्थ प्यालेस्टिनी हमासविरुद्ध युद्ध गरिरहेको इजरायलमाथि इरानले यति ठुलो आक्रमण गरेपछि अब के गर्ने भन्ने विषयमा इजरायली नेतृत्व दोधारमा छ । इजरायलको रक्षा गर्न सघाउँदै आएको अमेरिकाले स्पष्ट शब्दमा इरानमाथि प्रत्याक्रमण गरे त्यसमा आफू संलग्न नहुने बताएर युद्ध नगर भन्ने सन्देश दिन खोजेको छ । इजरायलभित्रकै अतिवादीहरूले आफ्नो भूमिमा यति ठुलो आक्रमण भएपछि चुप लागेर बस्न नहुने प्रत्याक्रमण गर्नैपर्ने भनी सरकारमाथि दबाब सिर्जना गरेका छन् । सरकार तत्काल प्रत्याक्रमणमा जान केही हच्किएको छ । उपयुक्त समयमा उपयुक्त जवाफ दिने उसको भित्री मनसाय देखिन्छ । 

हमाससँगको युद्धमा अपेक्षित सफलता प्राप्त गर्न नसकी बढी आलोचित भएको इजरायल सरकार हमास सँगसँगै इरानसित पनि तत्काल युद्ध गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्दा परिस्थिति थप प्रतिकूल हुन सक्ने भएकाले केही संयम अपनाएको अनुमान गरिएको छ । आणविक हतियारको नजिक पुगेको र धेरै अत्याधुनिक हतियार बनाइसकेको इरानसँग युद्ध गर्नु भनेको एउटा सानो विद्रोही हमास समूहसँग युद्ध गरे जस्तो होइन । 

इरान सरकारले आफूले गरेको यो आक्रमणको प्रतिकार गरे युद्ध गर्ने घोषणा गरिसकेको छ । इजरायललाई अमेरिका र बेलायतको सहयोगबिना इरानसँग युद्ध गर्न सजिलो छैन । इरानसँग युद्ध भयो भने यो तत्काल टुङ्गोमा पुग्दैन, यसले ठुलो विनाश नै ल्याउने गरी क्षेत्रीय युद्ध हुने छ । यसले पश्चिम एसियाको स्थायित्व र सुरक्षामाथि नै प्रश्न उठाउन सक्ने भएकाले यस्तो अवस्थामा आउन दिने कि नदिने इजरायली नेतृत्वले सोच्नैपर्ने भएको छ । 

अहिले इजरायल चारैतिर शत्रु राष्ट्रले घेरिएको छ । सिरिया, लेबनान, इराक, इरान, इजिप्ट, यमनलगायतसँग इजरायलको चरम विवाद छ । आफ्नै अधीनस्थ प्यालेस्टाइनसँग युद्ध गर्न परिरहेको छ । इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गरी बारम्बार साइबर आक्रमण, इरानी अधिकार तथा वैज्ञानिकको हत्या गर्ने गरेकाले उसँग इरान आक्रोशित छ । पछिल्लो पटक सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा यही अप्रिल १ मा इजरायली सेनाले हवाई आक्रमण गरी इरानका वरिष्ठ सैन्य अधिकारीसहितको हत्या गरेपछि आक्रोशित इरानले त्यसको बदला लिने घोषणा गरेको थियो । अप्रिल १३ को रातिदेखि अप्रिल १४ को बिहानसम्म इजरायलमाथि गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई इरानले इजरायललाई दण्डित गरेको र यो आक्रमण टुङ्गिएको तर प्रत्याक्रमण गरे युद्ध हुने भन्दै आफ्नो धारणा स्पष्ट गरेको छ ।

पछिल्लो घटनाक्रमसँगै संयुक्त राष्ट्रसङ्घ, जी सेभेन, युरोपेली सङ्घ, अमेरिका, बेलायत, रुस, चीन, भारत, जापानलगायत विश्व समुदायले इजरायल र इरान दुवैलाई संयम हुन र युद्धमा नजान आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जोए बाइडेनले स्पष्ट शब्दमा भन्नुभयो, “इरानी हमलालाई विफल पारिएको छ, इजरायलले जितेको छ । त्यसैले इरानी भूमिमा सैन्य हमला गरेर तनाव बढाउने काम नगर ।”

छ महिनाअघि हमासले इजरायलमा गरेको हमलाको जवाफ दिन इजरायलले गाजामा सैन्य कारबाही थालेपछि सो क्षेत्र पूर्ण रूपले अशान्त र आक्रान्त छ । इजरायली कारबाही गाजामा मात्र सीमित छैन, उसले पटक पटक लेबनान र सिरियाका विद्रोही अखडामा हवाई आक्रमण गर्दै आएको छ । इजरायलको सैन्य बल र सुरक्षा प्रविधि विश्वमै अब्बल छ । उसको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले प्रत्यक्ष आक्रमणका सबै खाले क्षेप्यास्त्र, रकेट तथा ड्रोनलाई निस्तेज पार्न सक्छ तर सबै आक्रमण प्रत्यक्ष गरिँदैन, झुक्याएर, लुकेर गर्न सकिने हुँदा त्यस्तो अवस्थामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पनि काम नगर्न सक्छ । त्यसो हुँदा अत्याधुनिक प्रतिरक्षा प्रणालीसहितको प्रविधि छ भन्दैमा मुलुक सुरक्षाको ग्यारेन्टी गर्न सकिँदैन । छरछिमेक राष्ट्रहरूसँग शत्रुतापूर्ण सम्बन्ध रहेसम्म आफ्नो मुलुक र नागरिकलाई पूर्ण रूपले सुरक्षित राख्न नसकिने घटनाक्रमले पुष्टि गरेको छ । त्यसैले छिमेकीसँग सम्बन्ध सुधार गरी मेलमिलाप गरेर बस्नु नै बुद्धिमानी हुन्छ । छरछिमेक शत्रु भए शान्ति हुँदैन, छरछिमेक मित्र भए मात्र शान्ति र मेलमिलाप हुन्छ ।

इतिहासको एक कालखण्डमा इरान र इजरायल मित्र थिए । इरानका राजा रेजा पल्लबीलाई अमेरिका र इजरायलको पूर्ण सहयोग र समर्थन थियो । सन् १९७९ को इरानी क्रान्तिले राजतन्त्र अन्त्य गरेसँगै इरानसँग अमेरिका र इजरायलको सम्बन्ध बिग्रेको हो । त्यसयता अमेरिकाले इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाएको छ । त्यसको बदला इरान परमाणु हतियार बनाएर पश्चिम एसियाको शक्तिशाली राष्ट्र बन्न खोजेको छ । यसलाई रोक्न अमेरिका र इजरायलले भरमग्दुर प्रयास जारी राखेका छन् । 

यद्यपि इरान अहिले इजरायलसँग युद्ध गर्ने पक्षमा छैन । इजरायलले दमास्कसमा आफ्ना सैन्य कमान्डर नमारिदिएको भए उसले इजरायलमाथि सैन्य जवाफ दिने थिएन । यो आक्रमणलाई उसले आफ्नो भूमिमा भएको आक्रमण ठानेर इजरायललाई सैन्य जवाफ दिएको हो । आफूमाथि फेरि आक्रमण भए मात्र स्थिति अझ बिग्रिने उसको भनाइ छ । दमास्कस घटनाको दुई सातामा देखा परेको सङ्कट र जोखिमपछि इरानी पक्ष साम्य हुन खोजेको देखिन्छ । इरानले चाहेको भए इजरायलमा यसभन्दा ठुलो आक्रमण गर्न सक्थ्यो किनभने उसले ठुलो धनराशि खर्च गरेर वर्षौंदेखि रकेट र क्षेप्यास्त्र प्रयोग गर्ने फौजलाई सुदृढ बनाइरहेको छ । उसले अन्य कैयौँ अस्त्र प्रयोग गर्न सक्थ्यो । उसले लेबनानमा रहेको हेज्बुल्लाह लडाकुलाई पनि पूर्ण स्वरूपको आक्रमणमा सहभागी गराउन सक्थ्यो तर इरानले त्यसो गरेन । रकेट र क्षेप्यास्त्र भएका लेबनानको लडाकु तथा राजनीतिक समूह हेज्बुल्लाह इरानको सबैभन्दा बलियो साझेदार हुन् ।

मूलतः अहिले इरानको कूटनीतिक नियोगमा इजरायली हमला र इजरायलमाथि इरानी आक्रमणसँगै दुवै पक्षले ‘खतराका रेखा’ नाघेका हुन् । परिस्थितिलाई अरू बिग्रिन नदिन दुवै पक्षबिच केही कूटनीतिक सीमा रेखा कोर्न जरुरी छ । यस्तो अवस्थामा युद्धबाट हुने परिणामलाई दृष्टिगत गरी दुवै देशका सरकारले संयमता अपनाई युद्धमा जाने अवस्था आउन दिनु हुँदैन । प्रत्याक्रमण नगर्न बाइडेनले दिनुभएको सुझाव इजरायलले मान्यो भने पश्चिम एसियाले छिट्टै राहत महसुस गर्न सक्छ । यद्यपि खतरनाक अध्यायको अन्त्य भइसकेको सुनिश्चितता भने भएको छैन ।

Author

रामप्रसाद आचार्य