• १८ वैशाख २०८१, मङ्गलबार

दोस्रो ओखलढुङ्गा महोत्सव सुरु

blog

शेरबहादुर राई

ओखलढुङ्गा, बैशाख ५ गते । जिल्लामा दोस्रो ओखलढुङ्गा महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धनका साथै जिल्लाको आर्थिक, सामाजिक, कृषि, जडीबुटी र समग्र उद्योग व्यवसायको समय सापेक्ष विकास एवम् प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 

ओखलढुङ्गाका सङ्घीय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले महोत्सवको उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनुभएका सभापति खतिवडाले जिल्लाको समृद्धि र पर्यटन प्रवर्द्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

महोत्सव आगामी वैशाख १५ गतेसम्म सञ्चालन हुने आयोजक उद्योग वाणिज्य सङ्घ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताउनुभयो । महोत्सव अवधि भर करिब ६० हजार दर्शक भित्र्याउने योजना रहेको उद्योग वाणिज्य सङ्घ अध्यक्ष मास्केले बताउनुभयो । महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्नुको साथै जिल्ला बाहिरका व्यवसायी बिच व्यापार सम्बन्ध बढाउन सहयोग पुग्ने अध्यक्ष मास्केको भनाइ छ । 

महोत्सवको पहिलो दिन स्थानीय कला, मौलिक संस्कृति, विभिन्न जातजातिका झाँकी सहित सदरमुकाम बजार परिक्रमा गरेर गरिएको थियो । महोत्सव स्थलमा १५० भन्दा बढी स्टल, चर्चित कलाकारहरूको प्रस्तुति, अन्य मनोरञ्जनात्मक खेल तथा स्थानीय उत्पादनहरूको बिक्रीका लागि प्रदर्शनी गरिएको छ । 

महोत्सव स्थलमा प्रवेशका लागि विद्यार्थी र वृद्धवृद्धा बाहेक सबैलाई एक सय रुपियाँ टिकट तोकिएको छ । ५ वर्ष माथिका विद्यार्थीले परिचयपत्र र ज्येष्ठ नागरिकले वृद्धभत्ता कार्ड लिएर गएमा ३० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ । ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घको आयोजना तथा एआइके ग्रुप काठमाडौँको सह–आयोजनामा महोत्सव सञ्चालन भएको हो । ओखलढुङ्गामा करिब ५ वर्ष पछि महोत्सव भएको हो ।