• १८ वैशाख २०८१, मङ्गलबार

अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा

blog

अपि हिमालमा सञ्चालन भएको स्वास्थ्य शिविरमा सेवा लिँदै स्थानीय । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, वैशाख ५ गते । दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा चार दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले चार दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

गत चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालित शिविरबाट ६९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४६५ महिला र २२९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएको अपि हिमाल गाउँपालिकाका कर्मचारी मदनराज जोशीले बताउनुभयो । 

पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । पहिलो दिन सो क्षेत्रका ६५ महिला र ४२ पुरुषगरी १०७ जनाले उपचार सेवा लिएका छन् । 

दोस्रो र तेस्रो दिन वैशाख २ र ३ गते अपि हिमाल गाउँपालिका –४ चिल्ढुङ्गामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । दोस्रो दिन १७२ महिला र ७१ पुरुष गरी २४३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । तेस्रो दिन १२१ महिला र ६४ पुरुष गरी १८५ जनाले उपचार सेवा लिएका छन् । 

दोस्रो र तेस्रो दिन ५९ जनाको भिडिओ एक्स-रे गरिएको उहाँले बताउनुभयो । चौथो दिन अपि हिमाल गाउँपालिका –१ सितिमा आयोजना गरिएको स्वास्थ्य शिविरमा १०७ महिला र ५२ पुरुष गरी १५९ जनाले स्वास्थ्य उपचार सेवा लिएको अपि हिमाल गाउँपालिकाले जनाएको छ । शिविरमा महिलाको उल्लेख्य सहभागिता थियो । गाउँमै स्वास्थ्य सेवा पाएपछि खुसी लागेको स्थानीय देबकी बोहराले बताउनुभयो ।

दुर्गम पालिका अपि हिमालमा दुई वटा स्वास्थ्य चौकी र अन्य चार वटा सामुदायिक स्वास्थ्य केन्द्र र केही बर्थिङ सेन्टर सञ्चालनमा छन् । १० शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले भवन निर्माण सम्पन्न भइसकेपछि पालिकाबाटै विशेषज्ञ चिकित्सकसहितको सेवा दिने तयारी रहेको, हालसम्म स्वास्थ्य शिविर आयोजना गरेर सेवा प्रदान गर्दैआएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।