• १८ वैशाख २०८१, मङ्गलबार

पाकिस्तानमा वर्षाका कारण थप चारको मृत्यु

blog

खैबरपख्तुनख्वा (पाकिस्तान), वैशाख ५ गते । पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ । योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ ।

साङ्ला र चारसद्दा जिल्लामा मौसमी प्रतिकूलताले हताहतका घटनाहरू भएका छन्, जसले विगत केही दिनदेखि लगातार भारी वर्षाका साथै आँधीबेहरी आइ थप विनाश गरेको छ ।

केपी प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले अप्रिल १२ देखि मृतकको सङ्ख्या २१ पुगेको जनाएको छ । घाइतेको सङ्ख्या पनि बढेर ३२ पुगेको छ ।

उद्धार–११२२ टोली का प्रवक्ता बिलाल अहमद फैजीले चारसद्दाको सबकदरमा घर क्षति भएपछि दुई बालबालिकाको ज्यान गएको पुष्टि गर्नुभयो । त्यसैगरी, साङ्लाका उपयुक्त जियाउर रहमानले सोमबार राति साङ्लामा दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । जहाँ अलपुरीको देहराई क्षेत्रमा आकस्मिक बाढीमा आमा र बच्चा बगाएको छ । यी नयाँ हताहतहरूसँगै, प्रान्तमा मृत्युको सङ्ख्या २५पुगेको हो ।

लोअर कोहिस्तानको डुबेरका जÞाहिद कथानाले अस्थायी सडक र पुलहरू सन् २०१० पछि पाँचौँ पटक बाढीले बगाएको बताउनुभयो । बाढीले बासिन्दाहरूलाई घरमा सीमित रहन बाध्य पारेको जनाउनुभयो । असहज परिस्थितिले स्थानीयलाई दुर्गम भूभागबाट कठिन यात्रा सहेर अस्थायी व्यवस्था प्रयोग गरी बिरामीहरूलाई अस्पताल पुर्‍याउन बाध्य तुल्यायो ।

वर्षा रोकिएपछि नदीको जलस्तर घटेको छ भने पिडिएमएले केपीका प्रभावित जिल्लाहरूमा राहत कार्य सुरु गरेको छ ।

पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अप्रिल २२ सम्म देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यसैबिच अर्को शक्तिशाली लहर पश्चिमी क्षेत्रहरूमा प्रवेश गर्ने आङ्कलन गरिएको छ । यो लहर देशको माथिल्लो भागहरूमा विस्तार हुँदा सुरुमा बलुचिस्तानलाई असर गर्ने अनुमान गरिएको छ ।

पिएमडीको पूर्वानुमानमा विभिन्न क्षेत्रहरूमा भारी वर्षार आँधीबेहरी आउने समावेश छ । पृथक् क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना छ । खैबरपख्तुनख्वामा, चित्राल, दिर, स्वात, एबटाबाद र अन्य जिल्लाहरू समेत प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

गिलगिट–बाल्टिस्तान र कश्मीरमा पनि वर्षा, आँधीबेहरी र उच्च पहाडी क्षेत्रहरूमा हिमपातसहित खराब मौसमको सामनाका लागि तयारी भएको छ । पन्जाब र सिन्धका क्षेत्रहरू सम्भावित वर्षा, आँधीबेहरी र असिनाबाट बच्न आवश्यक तयारी गर्न सल्लाह दिइएको छ ।

पिएमडीले माथिल्लो केपी, मुर्री, गलियत, कश्मीर र जीबीमा भूस्खलनको जोखिमसँगै केही क्षेत्रमा आकस्मिक बाढीको चेतावनी दिएको छ । किसानहरूलाई बालीको रक्षा गर्न सावधानी अपनाउन सल्लाह दिइएको छ । अधिकारीहरूलाई सतर्क रही सम्भावित जोखिमलाई कम गर्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय राजमार्ग तथा मोटरवे प्रहरीले मौसमी सुरक्षा सुनिश्चित गर्न पिएमडीको सल्लाह अनुसार अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई सल्लाह दिएको डनले जनाएको छ । रासस/एएनआई