• १८ वैशाख २०८१, मङ्गलबार

‘विश्वभरि नेपाली साहित्य फैलाउनु पर्छ’

blog

काठमाडौँ, वैशाख ५ गते । नेपाली भाषीलाई मात्र नभएर अरू भाषीलाई पनि नेपाली भाषा, साहित्य, संस्कृतिका बारेमा पढाउने जिम्मेवारी वर्तमान पुस्तालाई भएकोमा जोड दिइएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहमा मङ्गलबार बोल्ने वक्ताले भावी पुस्ताले नेपाली भाषा, लिपि तथा संस्कृतिबारे जान्ने हुन् कि होइनन् भन्ने चिन्ता पनि गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली भाषा, साहित्य नेपालीका लागि मात्र नभएर अरू भाषीका लागि हो भन्ने कुरा स्थापित गराउन लाग्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जहाँ जहाँ नेपाली त्यहाँ नेपाली भाषा भन्ने मात्र होइन, नेपाली भाषीसँगै बसेका अरू भाषीलाई पनि नेपाली भाषा, साहित्यको ज्ञान दिनु हामी सबैको कर्तव्य हुन आएको छ । यसका लागि सबैले लाग्न जरुरी छ ।” 

उहाँले नेपाली भाषा, साहित्यको विकासका लागि देशभित्रै बसेर मात्र पर्याप्त नहुने भएकाले देशबाहिर बसेका नेपाली भाषीलाई पनि यो अभियानमा जोड्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले नेपाली भाषा, साहित्य, संस्कृतिलाई विश्वभरि फैलाउने अभियानमा सबैलाई जोड्न प्रज्ञा–प्रतिष्ठानलगायतका जिम्मेवार निकायले सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । 

उहाँले विश्वभरि छरिएर रहेका नेपाली भाषीलाई आफ्ना पछिल्लो पुस्तामा पनि भाषा, संस्कृतिको पुस्तान्तरण र हस्तान्तरण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले प्रवासमा बसेर नेपाली भाषा, साहित्यको विकास र प्रवर्धनका लागि समाजले सक्दो काम गरिरहेको बताउनुभयो । उहाँले समाजद्वारा स्थापित विभिन्न पुरस्कारले विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारलाई नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा लाग्न अभिप्रेरित गरिरहेको बताउनुभयो । 

कार्यक्रममा भारतको आसाम बसेर नेपाली भाषा, साहित्यको उन्नयनका लागि योगदान पु¥याएबापत रण काफ्ले, नेपालका साहित्यकार कल्पना खरेल, गणेश जिसी, श्रीबाबु कार्की, डा. गोविन्द आचार्य र निर्माेही व्यासका पुस्तकलाई उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत गरियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्व रण काफ्ले, कल्पना खरेल, गणेश जिसीलगायतले विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीका छोराछोरीलाई भाषा, संस्कृतिका बारेमा जानकारी दिने कुरा आजको चुनौती रहेको बताउनुभयो ।