• १८ वैशाख २०८१, मङ्गलबार

तेस्रो देशका पर्यटक भित्र्याउन नाका खोल्न कूटनीतिक पहल आवश्यक छ : सभामुख घिमिरे

blog

मंगलबार झापा आउनेक्रममा भद्रपुरमा विमानस्थलमा सभामुख घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख ४ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको पूर्वी नाका काँकडभिट्टा तेस्रो देशका पर्यटकलाई नेपाल भित्र्याउन कूटनीतिक पहल गर्ने बताउनुभएको छ। कोभिडका कारण बन्द भएको नाका अहिलेसम्म खुलेको छैन।

मंगलबार गृहजिल्ला झापा आउनुभएका सभामुख घिमिरेले मेचीनगरमा भएको कार्यक्रममा बोल्दै यो नाका भएर पर्यटक भित्र्याउन सके पूर्वी नेपालमा पर्यटनको विकासमा टेवा पुग्ने जनाउनुभयो। 

‘तेस्रो देशका पर्यटकलाई नेपाल आउन भारतले रोकेका कारण त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराउने कार्यमा मेरो प्रयत्न रहन्छ’, उहाँले भन्नुभयो।

तेस्रो देश पुर्नबास भएर पूर्वी नेपालका भुटानी शरणार्थी अमेरिका लगायतका तेस्रो मूलुकमा एक लाख भन्दा बढी गएका छन्। उनीहरू भारत हुँदै आफन्त भेट्न नेपाल आउँदा समस्या हुने गरेको बताइने गरेको छ। 

सभामुख घिमिरेसँग स्थानीय सामाजिक अगुवा तथा राजनीतिकर्मीहरू भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकलाई सहजीकरण गर्नका लागि आवश्यक प्रबन्ध गरिनुपर्नेमा जोड दिनुभएको थियो। केही वर्षदेखि पर्यटकको आवागमन रोकिँदा यसले पर्यटन क्षेत्रमा ठुलो असर पुगेको गुनासो गरिएको थियो।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भारतले विदेशी पर्यटकलाई नाकामा रोक लगाएको जनाउँदै यसलाई खुलाउनका लागि पहल गरिदिन लिखित रूपमा नै माग गर्नुभएको थियो। ‘बारम्बार यो विषयमा हामीले कुरा उठाउँदै आएका छौँ तर अहिलेसम्म नाका खुल्न सकेको छैन’, उहाँले भन्नुभयो। सभामुख घिमिरे मंगलबार दिउँसो गृह जिल्ला झापामा केही दिन रहने गरी आउनुभएको हो।