• १३ जेठ २०८१, आइतबार

नमुना मार्ग बन्ने

blog

हेटौँडा उपमहानगरपालिकाको कार्यालय । तस्विर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख ४ गते । संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत् १६ करोड रुपियाँको स्वीकृत बजेटले हेटौँडामा नमुना मार्ग बन्ने भएको छ । हेटौँडा उपमहानगरपालिका–४ को रजतजयन्ती र हेटौँडा ७, ८ को सिमानाको सडकलाई नमुना बनाउने र हेटौँडा ६ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो । 

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र नमुना सडक निर्माण प्रक्रिया अघि बढाइएको नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । सहरी विकास मन्त्रालय अन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत् नगरक्षेत्रमा रहेको दुई वटा नमुना सडक र एक वडा कार्यालय निर्माण हुन लागेको प्रमुख लामाले जानकारी दिनुभयो । मन्त्रालय मातहत रहेको संघन सहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत् उपमहानगरपालिका क्षेत्रमा नमुना सडक सहित पूर्वाधार निर्माण हुन लागेको छ । 

हेटौँडा उपमहानगरपालिका–४ को रजत जयन्ती मार्गलाई ४ लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ बेरीयर, सडक बत्ती सहित अक्सपाल्ट पिच गरी व्यवस्थित सडक निर्माण गरिने तयारी रहेको आयोजनाले जनाएको छ । सडक ९५० मिटर लम्बाइको हुने बताइएको छ । संघमार्फत् पहिले आउने भनेको २५ करोड रुपियाँमध्य केही रकम कटेर आएकाले अहिले प्राथमिकतामा परेको हेटौँडा–१ को पिपलबोट, स्वगद्धारी मन्दिर हुँदै रक्त सञ्चार जाने सडकको काम नहुने संघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । सिलिङ बजेटमा कटौती हुँदा अहिले काम गर्न समस्या भएको हो, दोश्रो चरणमा सडकको कामलाई प्राथमिकतामा राखेर गरिने आयोजनाले जनाएको छ।

आयोजनामार्फत् हेटौँडा ७ र ८ को सिमाना क्याक्पाडाँडा पुलबाट हेटौँडा १५ तीनकुने चोक सम्मको कर्णावती सडक २ लेनको निमार्ण हुने छ । करिब ११ सय मिटर लम्बाइको सडकमा फुटपाथ, दुईतर्फ नाला, सडकबत्तीको व्यवस्था सहित निर्माण हुने बताइएको छ । स्वीकृत बजेटको सिमामा रहेर हेटौँडा ६ नम्बर वडाको एक तल्ले भवन निर्माण गरिने आयोजनाले जनाएको छ । आयोजनाले भौगोलिक अध्ययन पश्चात नमुना सडक र वडा कार्यालय भवन निर्माणका लागि गत चैत्र २० गते बोलपत्र आव्हान गरेको जनाएको छ ।