• १९ वैशाख २०८१, बुधबार

कम्युनिष्ट एकताको आधार बन्दैछ : गजुरेल

blog

पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, वैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पूर्वबाट कम्युनिष्ट दलहरूको एकताको आधार तयार हुँदैगएको बताउनुभएको छ । 

चुनावी अभियानका क्रममा आज इलाम सदरमुकाम आइपुग्नु भएका गजुरेलले इलाम –२ को उपनिर्वाचनमा कम्युनिष्टका साझा उम्मेद्वार सुहाङ नेम्वाङले जित्ने निश्चित रहेको बताउनुभयो । यो निर्वाचन पनि एकताको एउटा आधार भएको उहाँको भनाइ छ ।  

पहिलेजस्तो एकै पटक एकता नहुने भन्दै गजुरेलले तल्लो स्तरसम्म अर्थात् गाउँ–गाउँ, टोल–टोलसम्म पुगेर आपसी गठबन्धन गर्दै एकतालाई टुङ्गोमा पुगाउने लक्ष्य रहेको बताउनुभयो । ‘अहिले पनि निर्वाचनका सन्दर्भमा संयुक्त सभा, घरदैलो, मतदाता भेटघाट भइरहेको छ’ गजुरेलले भन्नुभयो, ‘एकता र आपसी सद्भावको दृष्टान्त यही छ ।’ 

कोशी प्रदेश इन्चार्ज समेत रहनुभएका गजुरेलले आज इलाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाम गठबन्धन, कांग्रेसभित्रको अन्तरविरोध र इलाम –२ को जनआधार बलियो भएकाले सुहाङको जित निश्चित रहेको दाबी गर्नुभयो । उहाँले साझा उम्मेदवार सुहाङ र नेपाली कांग्रेसबिच प्रतिस्पर्धा हुने दाबी गर्नुभयो ।