• १९ वैशाख २०८१, बुधबार

इलामको फिक्कलमा सडक महोत्सव

blog

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख ३ गते । 
इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौँ सूर्योदय सडक महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारबाट पाँचौँ संस्करणको सूर्योदय सडक महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पर्यटकीय नगरीमा आयोजना गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा  सहयोग पुग्ने बताउनु भयो । सडक महोत्सव दुई दिनसम्म सञ्चालन हुने छ ।

महोत्सवमा  स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, विद्युतीय सवारी साधन स्टल, वातावरणमैत्री निर्माण सामग्री र स्थानीय पर्यटकीय उपजका गरी २५ वटा स्टल रहेका छन् । दुई दिनसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्दा १९ लाख रुपियाँ खर्च हुने र उक्त अवधिमा १५ हजारले महोत्सवको अवलोकन गर्ने आयोजक सूर्योदय होटल व्यवसायी सङ्घका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘‘सडक महोत्सव नेपालका थोरै ठाउँमा मात्र हुने गरेको छ, त्यस मध्ये निरन्तरता पाएको फिक्कलले पनि हो ।’’

महोत्सवको आयोजना सूर्योदय होटल व्यवसायी सङ्घ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले गरेका छन् । सूर्योदय जेसिजका अध्यक्ष अभिषेक पौडेलले सडक महोत्सवमा दुई दिनमा एक करोड रुपियाँ बढीको कारोबार हुने बताउनु भयो ।

महोत्सवमा गायिका रचना रिमालसहित विभिन्न ब्याण्डको प्रस्तुति रहने छ । पाँच वर्षदेखि फिक्कलमा सडक महोत्सव हुँदै आएको छ ।