मुरारी अधिकारी
धादिङ, वैशाख ३ गते । उत्तरी धादिङका अधिकांश स्थानमा अझै सहज सडक यातायात पुग्न सकेको छैन । उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिन मार्गको काम सुरु भएको चार दशक भइसक्दा पनि अझै काम सम्पन्न भएको छैन । दामन पाख्रिन मार्गमा पर्ने किन्ताङफेदीमा पुल नबन्दा हिउँदमा मात्र उत्तरी धादिङमा यातायात सञ्चालन हुने गरेको अवस्थामा यस वर्ष पुल बनेपछि निकै सहज हुने भएको छ ।
धादिङको खनियाँबास गाउँपालिका–४, किन्ताङफेदीमा ‘चाइनिज ब्रिज’ निर्माणको काम सकिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन पाख्रिन मार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पक्की पुल निर्माण गरिएको हो । उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माण गर्न चासो दिएर लागेको धादिङबाट प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार पुल निर्माण नेपाली सेनाको सहयोगबाट सम्भव भयो, जसले गर्दा यहाँका नागरिकको आवतजावत र आर्थिक विकासमा निकै टेवा पुग्दछ ।
किन्ताङफेदीमा पुल नहुँदा वर्षाको पाँच महिना सवारी आवतजावत पूर्ण रूपमा बन्द हुने गथ्र्यो । उत्तरी धादिङको रुवीभ्याली, गङ्गाजमुना, खनियाँबास र नेत्रावती डवजोङ गाउँपालिकालाई जोड्ने १४० फिट लम्बाइ, ४.२ मिटर चौडाइको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । ट्र्याक खोलिएको झन्डै चार दशकपछि अहिले किन्ताङ खोलामा चाइनिज ब्रिज हाल्ने काम भएपछि धादिङको उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् ।
पुल बनेपछि उत्तरी धादिङवासीको जीवन फेरिने खनियाँबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ बताउनुहुन्छ । उत्तरी धादिङको जीवनस्तरमा सुधार ल्याउन पुल निर्माणका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो । पुल नहुँदा आपत्कालीन समयमा ठुलो समस्या बेहोर्नु परेको रिजालको भनाइ छ । पुल बनेपछि उत्तरी धादिङको जनताको मुक्तिका दिन सुरु हुने खनियाँबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको भनाइ छ । जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने हुँदा जीवनस्तरमा सुधार आउने उहाँले बताउनुभयो ।