• १८ वैशाख २०८१, मङ्गलबार

इलाममा मदिरा बिक्रीमा रोक

blog

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), वैशाख २ गते । 
इलाम-२ को उपनिर्वाचनलाई मध्य नजर गरी इलाममा मदिरा बिक्रीमा रोक लगाइएको छ । इलाम क्षेत्र नं. २ मा यही वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि मदिरा बिक्रमा प्रतिबन्ध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामले वैशाख २ देखि १५ गते निर्वाचन सम्पन्न भएर मत गणना नसकिएसम्मका लागि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।

उहाँले निर्वाचन क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरी प्रतिबन्ध लगाइएको जानकारी दिनु भयो । निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री एवम् सेवन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मदिरा प्रयोग एवम् बिक्री गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने जनाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले आग्रह समेत गरेको छ । प्रजिअ यादवले भन्नुभयो, ‘‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन हामी लागि परेका छौँ ।’’

इलाम-२ मा उपनिर्वाचनका लागि निर्धारण गरिएका सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन् । इलाममा उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रित भएको र बाहिरबाटसमेत आऊ–जाऊ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको प्रजिअ यादवको भनाइ छ ।

इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन् । मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ छ । यीमध्ये पुरुष ५९ हजार १८ र महिला ५६ हजार आठ सय ६९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपनिर्वाचन सुरक्षाका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुने छन् ।  निर्वाचनका लागि सबै दलका शीर्ष नेता अहिले इलाम निर्वाचन क्षेत्र नं. २ का मतदाताका घरघरमा उम्मेदवारसहित पुगिरहेका छन् ।