• २१ असार २०८१, शुक्रबार

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा सञ्चालित मोटरबोटको उद्घाटन

blog

अमरराज नहर्की 

तनहुँ, वैशाख २ गते । गण्डकी प्रदेश सरकारका मन्त्री हरिबहादुर चुमानले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा सञ्चालनमा ल्याएको मोटरबोटको उद्घाटन गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोरासँग सम्झौता गरी आजदेखि सञ्चालनमा ल्याएको हो । 

केन्द्रको वडा नम्बर २ र ३ मा पर्ने जलाशयमा गाउँपालिकाले मोटरबोट सञ्चालन गर्न आँबुखैरेनी गाउँपालिकाले ९ पुसमा बोलपत्र आह्वान गरेको थियो । सोही अनुसार गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालन सम्झौता गरिसकेकोले आइतबारबाट सञ्चालनमा ल्याइएको हो । नेपालकै पहिलो र ठुलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने छ । 

मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास भई पर्यटन क्षेत्रले फड्को मार्ने विश्वास गरिएको छ । जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिकाले जनाएको छ । जलाशयको सदुपयोग गरी स्थानीयलाई रोजगारी र आम्दानी दिन मोटरबोट सञ्चालनमा ल्याइएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 

जलाशयमा मोटरबोट सञ्चालन पछि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्ने अपेक्षा गाउँपालिकाको छ । मोटरबोट सञ्चालन पछि पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षा गाउँपालिकाले लिएको छ । 

प्रसिद्ध धार्मिक स्थल अकलादेवी पनि सोही जलाशय नजिक रहेको छ । धार्मिक पर्यटकलाई थप आकर्षित गर्न मोटरबोटले सहयोग गर्ने उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । मोटरबोट सुरु भएपछि स्थानीय बासिन्दाका लागि सहज यात्रा गर्न, बिरामी ल्याउन र समान ओसार पसार गर्न उपयोगी हुने अपेक्षा गाउँपालिकाको छ ।